सल्यान कपुरकोट–तुलसीपुर सडकमा स्थानीयको अवरोध

सफल खबर संवाददाता

शनिबार, ०७ जेठ २०७९, ११ : २२
सल्यान कपुरकोट–तुलसीपुर सडकमा स्थानीयको अवरोध

सल्यान  ।टिपरको ठक्करबाट युवकको निधन भएपछि मृतकका आफन्त र राजनीतिक दलका प्रतिनिधिले राप्ती राजमार्ग अन्तरगर्त कपुरकोट –तुलसीपुर सडकखण्ड बन्द गरेका छन्। क्रियाशील चार राजनीतिक दल नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले संयुक्त विज्ञप्ति जारी गरी शनिबार बिहान १० बजदेखि राप्ती राजमार्ग अन्तर्गत कपुरकोट–तुलसीपुर सडक खण्ड बन्द गरेको उल्लेख गरेका छन्। 

बन्दको समयमा अत्यावश्यक सवारी (एम्बुलेन्स) बाहेक अन्य सबै सवारी साधनलाई रोक लगाइने संयुक्त विज्ञप्तिमा उल्लेख छ। घटना भएको तीन दिनसम्म पनि रोल्पा सिमेन्ट कम्पनी र जलजला यातायात प्रालिका जिम्मेवार व्यक्ति सम्पर्कमा नआएको भन्दै सडक अवरुद्ध गरिएको हो। 

तुलसीपुर ४ हर्नेटीमा बिहीबार साँझ ६ बजेतिर टिपरको ठक्करबाट गम्भीर घाइते कपुरकोट गाउँपालिका वडा नम्बर –३ का १८ वर्षीय आकाश सेनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा निधन भएको थियो। 

बिहिबार साँझ कपुरकोटबाट तुलसीपुरतर्फ आउँदै गर्दा रा १ प ३१७९ नम्बर मोटरसाइकलमा सवार सेनलाई रा १ ख ११२३ नम्बरको टिप्परले ओभरटेक गर्ने क्रममा तुलसीपुर ४ हर्नेटीमा ठक्कर दिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी श्यामु अर्यालले जानकारी दिए। 

नेकपा एमालेका द्रोण केसी, कांग्रेसका युगराज वली, माओवादी केन्द्रका पवन कार्की र एकीकृत समाजवादीका जीतप्रसाद आचार्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा दोषिलाई कारवाही, पीडितका आफन्तले क्षतिपूर्ति नपाउँदासम्म सवारी सधान सञ्चालन  गर्न नदिने उल्लेख छ। 

दुर्घटनामा निधन भएका सेनको शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शवगृहमा राखिएको छ। जिम्मेवार व्यक्ति सम्पर्कमा नआएसम्म पोष्टमार्टम नगर्ने पीडित परिवारको अडान छ। ठक्कर दिने टिप्पर र चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस