काठमाडौँ । विमानस्थलबाटै हुँदै आएको सुन तस्करीमा संलग्न मुख्य अभियुक्त गोरे भनिने चुडामणि उप्रेती काठमाडौँबाट पक्राउ परेका छन् । मंगलवार विहान काठमाडौंबाट पक्राउ परेका गोरेलाई गृहमन्त्रालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ ।
गृहमन्त्रालयमा भएको पत्रकार सम्मेलनमा अनुसन्धान समितिका संयोजक गृह मन्त्रालयका सहसचिव ईश्वरी पौडेलले गोरेलाई मंगलबार बिहान ५ बजेर ३४ मिनेटको समयमा काठमाडौँ ८ गौरीधारा क्षेत्रबाट पक्राउ गरिएको जानकारी दिएका हुन् । उनीबाट घटनामा संलग्न भएको आरोपमा मुद्दा दर्ता भएका सबै ६५ जनाबारे थप जानकारी र प्रमाण प्राप्त भएको पौडेलले बताएका छन् ।
आफूहरु गएको तीन दिनदेखि कार्यालय भन्दा बाहिर गोप्य स्थानमा रहेर गोरेको खोजी गरिरहेको र मंगलबार बिहान पक्रन सफल भएको जानकारी पत्रकार सम्मेलनमा उनले दिएका छन् । गोरेलाई सम्भव भएसम्म चाँडै नै मुद्दा चलिरहेको जिल्ला मोरङ पठाइने उनले बताए । मोरङको उर्लावारी–४ स्थायी घर भई विगत ५ वर्षदेखि संगठित रुपमै सुन तस्करीमा संलग्न गोरे काठमाडौंको गौरीघाटमा बस्दै आएका थिए ।
प्रहरीको उच्च स्रोतबाट प्राप्त जानकारीका अनुसार गोरे भारतबाट परिवारका व्यक्तिलाई भेट्न भनेर काठमाडौं आएका थिए । समितिले गोरे काठमाडौं आउन लागेको सूचना तीन दिन अगाडि प्राप्त गरेको थियो । गोरेलाई काठमाडौंमै पक्राउ गर्न गृह मन्त्रालयद्वारा गठित समितिका सबै सदस्यहरु परिचालन गरिएका थिए ।
को हुन् गोरे
मोरङको उर्लाबारीका गोरेलाई नेपालमा हुने सुन तस्करीको डन अर्थात् ‘गोल्ड डन’ पनि भनिन्छ । नेता, व्यापारी र प्रहरी उच्च अधिकारीसँगको सम्बन्धका आडमा उनले सुन तस्करी गरिरहेका थिए । मध्यम वर्गीय परिवारमा जन्मिएका गोरेका बाबु नेपाल प्रहरीका सहायक निरीक्षक थिए । सुन तस्करीमा लाग्नुभन्दा पहिला उनी दुबई प्रहरीमा जागिरे थिए। त्यही क्रममा दुबईका सुन माफियासँग उनको सम्बन्ध गाँसियो ।
केही समयपछि गोरे नेपाल फर्किए। उच्च तहका नेतासँग हिमचिम बढाउन थाले। उनले प्रभावमा पार्नकै लागि मान्छे हेरेर महंगा उपहार दिए । स्थानीय तह र संसदीय चुनावका बेला राजनीतिक दलका उम्मेदवारहरूलाई सहयोग गरेको प्रहरी अनुसन्धानमा देखिएको छ। स्थानीय चुनावमा उनले केही नेतालाई गाडी पनि किनिदिएको थिए ।
लामो समयदेखि अवैध सुनको कारोबार गर्दै आएका उनी त्यही सम्बन्धका आडमा उम्किँदै पनि आएका थिए । ०७३ पुस २१ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले बरामद गरेको ३३ किलो अवैध सुनका मालिक गोरे नै भएको भरिया र अन्य अभियुक्तले बयान दिएका थिए । उच्च पहुँचकै भरमा त्यतिबेला गोरेको ठाँउमा अन्य केही व्यक्तिलाई कारबाही गरेर उनलाई उम्काइएको स्रोतको दाबी छ ।
सिआइबीले सुन तस्करीमा संलग्न ३३ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा दुई मुद्दा दायर गरेको थियो। मुद्दामा १५ करोड ४० लाख चार हजार आठ सय ८ रुपैंया २६ पैसा र तिर्नुपर्ने भन्सार महसुल र एक करोड ४२ लाख ८३ हजार आठ सय ९२ रुपैंया ४० पैसा गरी कूल १६ करोड ८२ लाख ८८ हजार सात सय रुपैंया ६६ पैसा बराबरको बिगो बमोजिम जरिवाना र बिगो जफतको दाबी माग गरिएको थियो।
उनी खुलमखुला काठमाडौंमा हिँडिरहेका थिए प्रहरीले भने सो मुद्दामा गोरेलाई फरार भनेको थियो । स्रोतका अनुसार त्यतिबेला गोरेकै डिजाइनमा पक्राउ परेका भरियासँग कनेक्सन भएका मानिसलाई पनि मुछियो । ‘गोरेले जसको नाम दिए उनैलाई मुख्य अभियुक्त बनाइयो जसको भरियासँगै अन्य कारणले टेलिफोन कनेक्सन थियो, सुनसँग थिएन,’ स्रोतले भन्यो । तस्करीको सुनको मालिक भनेर पोलेका गोरे पहुँचकै भरमा सामान्य कारबाहीबाट उम्केपछि उनको मनोबल बढ्यो। अवैध सुन नेपाल भित्र्याउने क्रम झनै बढ्यो ।
फागुन पहिलो साता विमानस्थल हुँदै भित्रिएको ३३ किलो सुन हराएपछि गोरेले सुन लुकाएको आशंकामा आफ्ना मुख्य सहयोगी शाक्यलाई गौरीघाटबाट उठाएर सप्तरी लगेर यातना दिएर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
हत्यापछि गोरेले नै प्रहरीलाई फोन गरेर घटना मिलाउन भन्दै मद्दत मागेका थिए । उनको मद्दतलाई स्वीकार गरी महानगरीय प्रहरी महाशाखाको टोली सुनसरी पुगेको थियो । सुनसरीमा शव फेला पारे पनि महाशाखाको टोलीले मोरङमा लगेर शवको बरामदी मुचुल्का बनाएको स्रोतले बतायो । प्रहरीकै सूचनाका आधारमा गोरे भागेर भारत पुगेका थिए ।
प्रतिक्रिया दिनुहोस