रियालको फराकिलो जित, लेभान्टे रेलिगेशनमा

सफल खबर संवाददाता

शुक्रबार, ३० बैशाख २०७९, ११ : ३५
रियालको फराकिलो जित, लेभान्टे रेलिगेशनमा

काठमाडौं । यसअघि उपाधि पक्का गरिसकेको रियाल मड्रिडसँग बिहीबार राति ६–० ले पराजित भएपछि लेभान्टे स्पेनिस ला लिगाबाट रेलिगेशनमा परेको छ । रियालको फराकिलो जितमा भिनिसियस जुनियरले ह्याट्रिक गरेका थिए । 

पुछारमा रहेको लेभान्टेलाई रेलिगेशनबाट जोगिने आशा कामय राख्नका लागि कम्तिमा एक अंक जोड्नु आवश्याक थियो । तर, फराकिलो अन्तरमा पराजित भएपछि लेभान्टे दुई खेल अगावे रेलिगेशनमा परेको हो । लेभान्टेले २९ अंक जोडेको छ । रेलिगेशनभन्दा माथि रहेको कार्डिजले ३५ अंक जोडेको छ । 

रियालले घरेलु मैदानमा फर्लान्ड मेन्डीको गोलबाट १३औं मिनेटमा अग्रता लिएको थियो । १९औं मिनेटमा करिम बेन्जेमाले अग्रता दोब्बर बनाए । ३४औं मिनेटमा रोड्रिगोले तेस्रो गोल थपे । पहिलो हाफको अन्तिम मिनेटमा व्यक्तिगत पहिलो गोल गरेका जुनियरले ८३औं मिनेटमा ह्याट्रिक गरेका थिए । जुनियरले दोस्रो गोल ६८औं मिनेटमा गरेका थिए । 

रियाल मड्रिडले यसअघि नै ला लिगाको उपाधि जितिसकेको छ । रियालले अब लिगमा कार्डिज र रियाल बेटिसविरुद्ध खेल्न बाँकी छ । रियालले च्याम्पियन्स लिगको उपाधिका लागि लिभरपुलसँग २८ मेमा प्रतिस्पर्धा गर्नेछ । 

प्रतिक्रिया दिनुहोस