भरतपुर महानगरमा फेरी पनि रेनु दाहालको जित सुनिश्चित

सफल खबर संवाददाता

मंगलबार, २७ बैशाख २०७९, १५ : ४८
भरतपुर महानगरमा फेरी पनि रेनु दाहालको जित सुनिश्चित

चितवन। भरतपुर महानगरपालिकाको परिणाम यसपटक पनि माओवादीकै पोल्टामा जाने सम्भावना बढेर गएको छ । कांग्रेसका ‘बागी उम्मेदवार’का कारण पनि मेयरमा रेनु दाहाललाई जित्न सहज हुने आँकलन गरिएको छ । भरतपुरमा कांग्रेसका पुराना नेता जगन्नाथ पौडेल ‘बागी उम्मेदवार’का रुपमा मेयरका प्रत्यासी हुन् ।

धरातलीय यथार्थ हेर्दा बागी उम्मेदवार पौडेलकै कारण रेणुको जित सुनिश्चित देखिन्छ । भरतपुरको अवस्था बाहिर प्रचार गरिएजस्तो नरहेको गठवन्धन पक्षीय स्थानीय कांग्रेस कार्यकर्ता बताउँछन् ।

पहिले भरतपुरमा कांग्रेस र माओवादीबीच मेयर र उपमेयरमा मात्रै तालमेल थियो । यसपल्ट भने २९ मध्ये कांग्रेसले उपमेयरसहित २० वटा वडा पाएको छ । माओवादी र नेकपा (एकीकृत समाजवादी) सहितले ९ वटा वडा मात्र लिएका छन् ।

वडामा कांग्रेसले भारी सफलता हात पार्ने देखिन्छ । यसकारण भित्री रुपमा पहिले जस्तो तीब्र असन्तुष्टि नरहेको बताइन्छ । गठबन्धनको पक्षमा भोट हाल्न चितवन कांग्रेसले नै पटक–पटक अपिल गरिसकेको छ ।

बागी र तिनका प्रस्तावक समर्थकलाई पार्टीबाटै निलम्वन गरेको स्थितिमा राजनीतिक भविष्यको लागि पनि गठबन्धनप्रति इमान्दार बन्नुपर्ने बाध्यता कांग्रेस कार्यकर्तालाई छ । अन्यथा पार्टीबाटै निकालिनुपर्ने अवस्थाले कार्यकर्तालाई दायाँबायाँ गर्न कठिन छ ।

उम्मेदवारी फिर्ता गर्न पार्टीले दिएको निर्देशन नमानेको भन्दै मेयरका उम्मेदवार पौडेल, पौडेलका प्रस्तावक कृष्णलाल सापकोटा र कांग्रेसकी महासमिति सदस्य मिना खरेललाई कांग्रेसले निलम्बनको कारबाही गरेको छ ।

कांग्रेसमा ६० वर्ष सक्रिय राजनीति गरेका ८५ वर्षीय सापकोटा कारबाहीमा परेपछि भरतपुर कांग्रेसमा यसले राम्रै झड्का दिएको छ । कडा कारबाहीको डरले बागी र एमालेको पक्षमा कांग्रेसबाट खुलेर भोट माग्न कांग्रेसका वडा तहसम्मका नेताले अब सक्ने छैनन् ।

पार्टीमा बागी र विद्रोही बन्दा राजनीतिक भविष्य नै धरापमा पर्न सक्ने अवस्था रहन्छ । त्यसकारण पार्टीमा भविष्य देख्ने युवा नेताले बागीको पक्षमा भोटको लागि अपिल गर्न असम्भव छ ।

कांग्रेसबाट बागी उम्मेदवारी पर्दा एमाले खुसी हुनु व्यर्थ रहेको भनाई भरतपुरका कांग्रेस कार्यकर्ताको छ । अहिले आएर भरतपुरका स्वतन्त्र मतदाताले समेत बागी उम्मेदवारका कारण एमालेलाई नभएर माओवादीलाई नै लाभ पुग्ने विश्लेषण गर्न थालेका छन् ।

२०७४ सालको निर्वाचनमा भरतपुरमा १ लाख ५० हजार मतदाता थिए । यसपटक यो संख्यामा ३५ हजार थपिएको छ । कुनै पार्टी वा संगठनको ‘व्याक सपोर्ट’ नभएका कारण बागीले जित्ने संभावना भरतपुरमा छैन ।

२०७४ सालमा मेयरमा कांग्रेसका उम्मेदवारले उम्मेदवारी फिर्ता लिँदा पनि सात हजार भोट खसेको थियो । २०७४ मा रेनु दाहालले २ सय ३ मतको झिनो अन्तरले जितेका थिए ।

उनले ४३ हजार १ सय २७ मत ल्याएका थिए । एमालेका देवी ज्ञवालीले ४२ हजार ९ सय २४ मत पाएका थिए । राप्रपाका मेयर उम्मेदवार बद्री तिमल्सिनाले ६ हजार ८ सय ४२ मत ल्याएका थिए ।

यसपटक तिमल्सिना माओवादीमा प्रवेश गरेका छन् । उनी राप्रपामा लोकप्रिय रहेका कारण उनका व्यक्तिगत मतले रेनुलाई फाइदा हुने छ । भरतपुरमा एमाले–राप्रपा गठबन्धन भए पनि बद्रीका कारण पहिलेजति राप्रपाको भेट यसपटक छैन ।

माओवादी एक्लैले २०७४ को चुनावमा वडा तहमा २० हजार मत ल्याएको थियो । रेनु मेयर भएपछि भरतपुरमा सडक, तटबन्ध जस्ता पूर्वाधारमा उल्लेख्य फड्को मारेको छ । जसका कारण स्वतन्त्र मतदाता माओवादीले आकर्षित गर्ने सभावना छ ।

रेनुको कार्यकालमा विकासमा भरतपुरले धेरै प्रगति गरेको छ । विकासकै कारण यसपल्ट रेनुले माओवादीबाटै कम्तिमा ३० हजार मत खसाल्ने अवस्था छ । बागीका कारण कांग्रेसको मत एमालेमा जानबाट रोकिने छ ।

यसपटक भरतपुरमा माओवादीलाई जसरी पनि जिताउने विषयमा गठबन्धन एक ढिक्का छ । भरतपुरमा यसपटक माओवादी आफैले पनि भोट बढाएको छ । कांग्रेसको पनि भोट बढेको छ ।

कांंग्रेसको भोट १५ देखि २० हजारसम्म काटिँदा पनि रेनुले चुनाव जित्ने हिसाब छ । सत्ता गठबन्धनको तर्फबाट कांग्रेसको भोटमा मात्र भरपर्नुपर्ने अवस्था पनि होइन । माओवादी, नेकपा एकीकृत समाजवादी, जसपा, जनमोर्चा र स्वतन्त्र भोटको अवस्था पनि राम्रै छ ।

मुख्य प्रतिस्पर्धी नेकपा एमाले यसपटक झनै कमजोर भएको छ । किनकी, एमाले विभाजन भएको छ । भरतपुर जस्तो ठूलो जनघनत्व भएको ठाउँमा एमाले विभाजन हुँदा ठूलै मत बाहिरिएको छ ।

एमाले विभाजन हुँदा एमालेका कार्यकर्ता अन्य पार्टीका गएका छैनन् । एमालेबाट बिद्रोह गर्दै बनेको नेकपा एकीकृत समाजवादीमै ति मत सुरक्षित छन् ।

एमालेबाट विद्रोह गरी बनेको पार्टी एकीकृत समाजवादीको मत पनि रेनुलाई नै मिल्ने छ । यी आधारमा यसपटक पनि रेनुकै जित सुनिश्चित रहेको विश्लेषण हुने गरेको हो ।

प्रतिक्रिया दिनुहोस