राष्ट्रिय भलिबलमा एपीएफको दोस्रो जित

सफल खबर संवाददाता

विहीबार, २२ बैशाख २०७९, १४ : ०७
राष्ट्रिय भलिबलमा एपीएफको दोस्रो जित

काठमाडौं । राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगिता अन्तर्गत महिलातर्फको खेलमा सशस्त्र प्रहरी क्लब एपीएफले दोस्रो जित निकालेको छ ।

राखेपको कभर्डहलमा बिहीबार भएको खेलमा एभरेष्ट भलिबल क्लबलाई ३–१ को सेटमा हराउँदै एपीएफले दोस्रो जित निकालेको हो । एपीएफले एभरेष्टमाथि २५–१३, २५–१०, १९–२५ र २५–१९ को सेटमा जित निकालेको हो ।

महिला तर्फकै दोस्रो खेलमा नेपाल पुलिस क्लबले न्यु डायमण्ड स्पोर्ट्स क्लबलाई ३–० को सेटमा हराउँदै तेस्रो जित निकालेको छ । पुलिसले न्यु डायमण्डमाथि २५–११, २५–१७ र २५–१५ को सेटमा जित निकालेको हो ।

पुरुषतर्फ पहिलो खेलमा गल्कोट स्पोर्ट्स क्लब र ढोरपाटन स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा भईरहेको छ । पुरुषतर्फको दोस्रो खेलमा हेल्प नेपाल र नेपाल पुलिस क्लब भिड्दैछन् । अपरान्ह ४ बजे शुरु हुने पुरुषको तेस्रो खेलमा एपीएफ क्लब र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

लिगमा पुरुषतर्फ ७ टिम र महिलातर्फ ५ टिमको सहभागिता रहेको छ । प्रतियोगिताका विजेताले ६ लाख, उपविजेताले ३ लाख, तेस्रोले १ लाख ५० हजार र चौथो हुनेले ७५ हजार प्राप्त गर्ने छन् । यस्तै, सर्वोत्कृष्ट पुरुष तथा महिला खेलाडीले जनही ३५÷३५ हजार पाउने छन् भने उत्कृष्ट सेटर, ब्लकर सर्भर, स्पाईकर, लिवेरो र प्रशिक्षकले जनही १५÷१५ हजार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस