आईपीएल : हैराबादलाई ५ विकेटले हराउँदै कोलकता प्ले अफका लागि छनोट

आइतबार, ०६ जेठ २०७५, ०८ : १६
आईपीएल : हैराबादलाई ५ विकेटले हराउँदै कोलकता प्ले अफका लागि छनोट

 कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आइपिएल) को प्ले अफका लागि छनोट भएको छ । शीर्षस्थानमा रहेको सनराइजर्स हैराबादलाई शनिबार ५ विकेटले हराउँदै कोलकता प्ले अफ पुग्ने तेस्रो टोली बनेको हो । सनराइजर्स र चेन्नई सुपर किङ्स यसअघि नै प्ले अफ पुगिसकेका छन् ।

हैदरावादस्थित राजिब गान्धी क्रिकेट स्टेडियममा घरेलु टोलीले दिएको १७३ रनको लक्ष्य कोलकताले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर पुरा गर्यो । कोलकताको जितमा क्रिस लिनले ५५ रन जोड्दा रविन उथप्पाले ४५ रनको योगदान दिए । यस्तै सुनिल नारिने २९ रन जोडे भने कप्तान दिनेश कार्तिक २६ रनमा अविजित रहे । हैदरावादका कार्लोस ब्रथ्वैट र सिदार्थ काउलले समान २ – २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदरावादले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १७२ रन जोडेको थियो । हैदरावादका लागि शिखर धवनले ५० रनको अर्धशतकीय पारी खेल्दा कप्तान केन विलियमसनले ३६ रन जोडे । त्यस्तै श्रीभाट्स गोस्वामीले ३५ र मनिस पाण्डयले २५ रन जोडे । कोलकताका प्रसिद्ध कृष्णले ४ विकेट लिए ।
यो जितसँगै कोलकताले तेस्रो स्थानमा रहदै प्ले अफमा स्थान पक्का गरेको हो । कोलकताले १४ खेलबाट १६ अंक जोडेको छ । प्लेअफमा यसअघि नै स्थान बनाईसकेको हैदरावाद १८ अंक जोडेर शीर्ष स्थानमा यथावत रहेको छ । यस्तै दोस्रो स्थानमा रहदै प्ले अफ स्थान पक्का गरेको चेन्नई सुपर किंग्सको १३ खेलबाट १६ अंक छ ।

आईपीएल क्रिकेटमा अब एक टोलीले प्ले अफमा स्थान पक्का गर्ने छन् । प्ले अफको होडमा राजस्थान रोयल्स, मुम्बई इन्डियन्स र किंग्स इमाभेन पन्जाब रहेका छन् । यो सिजन दिल्ली डेयरडेभिल्स र रोयल्स च्यालेन्जर्स बैंग्लोर भने बाहिरिसकेको छ । - एजेन्सी

प्रतिक्रिया दिनुहोस