श्रीमती, छोराछोरी, भाइ, सालीदेखि गर्लफ्रेन्डका छोरीसमेत उम्मेदवार

पत्रपत्रिकाबाट

सोमबार, १९ बैशाख २०७९, ०७ : ५९
श्रीमती, छोराछोरी, भाइ, सालीदेखि गर्लफ्रेन्डका छोरीसमेत उम्मेदवार

काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवार थरीथरीका रहेका छन् । विभिन्न पार्टीबाट शीर्ष नेताहरूले आफ्नै परिवारका सदस्यलाई समेत उम्मेदवार बनाएका छन् । देशैभरि पालिकाको प्रमुख तथा उपप्रमुखमा अधिकांश ठाउँमा स्थानीय नेताका श्रीमती नै उपप्रमुखको उम्मेदवार भएका छन् ।

राजनीतिक दलका शीर्ष नेताले आफ्ना श्रीमती, छोराछोरी, भाइबुहारी, सालीदेखि गर्लफ्रेन्डका छोरीलाई समेत उम्मेदवार बनाउन सफल भएको बताइएको छ । राजनीतिमा योगदान नभए पनि केन्द्रीय राजनीतिमा आफ्नो राम्रो प्रभाव भएकै कारण पालिकामा उनीहरूले परिवारका सदस्यलाई उम्मेदवार बनाएका हुन् ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिमा पराजित प्रकाशमान सिंहले आफ्ना श्रीमतीलाई काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार बनाएका छन् । श्रीमती सिर्जना सिंहलाई उनले उम्मेदवार बनाएका हुन् ।

कांग्रेसको १४औं महाधिवेशनमा केन्द्रीय प्रतिनिधि बनेकी उनी महानगरमा सार्वजनिक सरोकारमा सक्रिय नभए पनि मेयरको उम्मेदवार हुन सफल भएकी छन् । कांग्रेस वृत्तमा पनि उनको परिचय नेत्रीभन्दा प्रकाशमानको श्रीमती अर्थात् ‘भाउजू’कै रूपमा परिचित छ ।

परिवारवादको प्रभावले टिकट पाउन नसक्दा पाँच वर्षसम्म प्रतिस्पर्धी दल एमालेका मेयर विद्यासुन्दर शाक्यसँग पौठेजोरी खेलेर सम्पदा संरक्षणमा खटेकी उपमेयर हरिप्रभा खड्गीले मेयरको टिकट पाउन सकिनन् । तर, अहिले उनी सिर्जनाको प्रचारक भएर हिँड्न बाध्य छिन् ।

काठमाडौं महानगरपालिकाको मेयरको टिकट पाएकी सिर्जनाको योग्यता महानगरको विकासमा राजनीतिक रूपमा उनले निर्वाह गरेको भूमिकाभन्दा प्रकाशमानको श्रीमती हुनु नै देखिन्छ । सत्तारूढ पाँच दलीय गठबन्धनको उनी साझा उम्मेदवार हुन् ।

कांग्रेसका अर्का नेता तथा गृहमन्त्री बालकृष्ण खाँणले समेत आफ्ना भाइलाई रूपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरको उम्मेदवार बनाएका छन् । कांग्रेसको जिल्ला सभापतिसमेत रहेका रामकृष्ण खाँणको जिल्लामा राम्रो पकड छ । केन्द्रमा दाइ बालकृष्ण भएपछि उनले मेयरमा आफ्नै नाम सिफारिस गराए । र केन्द्रबाट दाइले टिकट मिलाइदिए । गत निर्वाचनमा उनी मेयरको उम्मेदवार भए पनि पराजित भएका थिए । राजधानी दैनिकमा खबर छ ।