निजी विद्यालयले दुई दिन बिदा नदिने

सफल खबर संवाददाता

आइतबार, १८ बैशाख २०७९, १६ : ५५
निजी विद्यालयले दुई दिन बिदा नदिने

काठमाडौं । निजी शैक्षिक संस्थाहरूले हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय नमान्ने भएका छन् । हप्तामा दुई दिन बिदा दिँदा विद्यार्थीहरूमा मानसिक प्रेसर पर्ने र अध्ययन पाठ्यक्रम पनि समयमा अध्यापन गराउन नसकिने भएको भन्दै निजी शैक्षिक संस्थाहरूले सरकारले यस निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । 

सरकारले  उनीहरूले सरकारले निजी शैक्षिक क्षेत्रसँग बिना कुनै छलफल र परामर्श नगरी अचानक अव्यवहारिक निर्णय गरेको उनीहरूको गुनासो छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) का महासचिव लोकबहादुर भण्डारीले सरकारले  निजी शैक्षिक संस्थाहरूसँग बिना कुनै छलफल हप्ताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय नमान्ने बताए । उनले हप्तामा दुई दिन बिदा दिँदा विद्यार्थीहरूमा मानसिक प्रेसर पर्ने र पढाएको नबुझ्ने उल्लेख गर्दै सरकारको निर्णय मान्न नसक्ने बताए ।

महासचिव भण्डारीले सरकारले दिने सर्वाजनिक बिदा पनि धेरै रहेको र सार्वजनिक बिदाको कटौती नगरी हप्ताको दुई दिन बिदा दिँदा पाठ्यक्रम पढाउन नसकिने स्पष्ट पारे । उनले सरकारले दुई दिन बिदा दिने कुराको वास्तविक कारण पनि नदिएकोले निजी शैक्षिक संस्था शनिवार बाहेकका दिनमा खुल्ने बताए । त्यस्तै राष्ट्रिय निजी तथा आवासीय विद्यालय संघका सचिव विष्णु पराजुलीले पनि सरकारले निजी क्षेत्रसँग छलफल नै नगरी हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको भन्दै आपत्ति जनाए ।

उनले कर्मचारीहरूलाई हेरेर सो निर्णय गरेको तर विद्यालयको हकमा त्यो लागू गर्न नसकिने बताए । उनले समय बढाएर बिदा दिन सकिने कुराहरू आइरहे पनि विद्यार्थीहरूको मानसिक असर पर्ने गरी शैक्षिक गतिविधि गरिनु उचित नहुने बताए । सचिव पराजुलीले शिक्षामा वार्षिक १३ करोड बढी खर्च हुन्छ भनेर हप्तामा दुई दिन बिदा गर्नु व्यवहारिक नभएको जिकिर गरे । उनले कोरोनाबाट थला परेको शैक्षिक क्षेत्रलाई उठाउनु पर्ने बेला पुनः निरुत्साहित हुने गरी निर्णय गर्नु दुर्भाग्यपूर्ण रहेको बताए ।

प्रतिक्रिया दिनुहोस