रुपन्देही । निजी विद्यालयका सञ्चालकहरुले हाल शिक्षा विधेयकमा उल्लेख गरिएअनुसारको छात्रवृत्ति दिन नसक्ने बताएका छन् । हाल संसदीय समितिमा विचाराधीन रहेको शिक्षा विधेयकमा निजी विद्यालयले १० देखि १५ प्रतिशतसम्म पूर्ण छात्रवृत्ति दिनुपर्ने प्रावधान राखिएको भन्दै यो प्रावधानले निजी विद्यालयहरु संकटमा पर्ने बताएका छन् ।
उनीहरुले कुनै किसिमको छात्रवृत्ति दिन नसकिने भन्दै बरु विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिने उल्लेख गरे ।‘सरकारले तोकेको १५% पूर्ण छात्रवृत्ति कुनै पनि हालतमा दिन सकिँदैन, बरु हामी निजी विद्यालय बन्द गरेर आन्दोलनमा जान्छौं’ प्याब्सन लुम्बिनी प्रदेश अध्यक्ष लालहरि पाण्डेले बैठकमा निर्णय सुनाए ।
प्याब्सन लुम्बिनी प्रदेशको कपिलवस्तुको चन्द्रौटामा बिहीबार बसेको आकस्मिक बैठकमा प्याब्सनका केन्द्रीय सल्लाहकार सुमन गोपाल आचार्यले निजी विद्यालयहरू आफ्नो सामाजिक दायित्व पूरा गर्न तयार रहेको तर सरकारले तोकेको १५% पूर्ण छात्रवृत्ति दिन सक्ने अवस्थामा नरहेको कुरा बताए ।
कुनै पनि कम्पनीले निःशुल्क सेवा गर्नुपर्ने संवैधानिक व्यवस्था नभएको बताउँदै आचार्यले संविधानमा उल्लेख गरिएअनुसार सरकारले आफ्ना विद्यालयहरूमा निःशुल्क शिक्षाको ग्यारेन्टी गर्न पनि चुनौती दिए । प्याब्सनका केन्द्रीय उपाध्यक्ष एवम् लुम्बिनी प्रदेश इन्चार्ज टीकाराम न्यौपानेले सरकारले ल्याउन लागेको शिक्षा विधेयकमा निजी विद्यालयहरूलाई समाप्त पार्ने षड्यन्त्र गरिएको भन्दै सोको सबैले डटेर विरोध गर्नुपर्ने र आन्दोलनको तयारीमा रहन निर्देशन दिए ।
सोही अवसरमा बोल्दै केन्द्रीय सचिवालय सदस्य खेमेन्द्र राना र केन्द्रीय सदस्य यज्ञमूर्ति पाण्डेले सरकारले विगतदेखि नै निजी विद्यालयहरूमाथि सौतेलो व्यवहार गरेको बताउँदै निजी विद्यालय बन्द गराउने र मुलुकमा शैक्षिक गुणस्तर समाप्त गर्ने चलखेल भइरहेकोले अभिभावकहरु पनि विरोधमा उत्रिनुपर्ने आवश्यकता बताए ।
बैठकमा बोल्ने अधिकांश वक्ताहरुले सामुदायिक विद्यालयहरुले संविधानविपरीत विभिन्न शीर्षकमा शुल्क लिइरहेको तथ्य उल्लेख गर्दै निजी विद्यालयहरूले निःशुल्क पढाउनुपर्ने प्रावधान पूर्णतः गलत र अव्यावहारिक भएकोले आन्दोलनमा जानुपर्ने आवश्यकता ओैंल्याएका थिए ।
सचिव कृष्णप्रसाद शर्मा पवनले सञ्चालन गरेको सो आकस्मिक बैठकमा केशब थापा दाङ र शिवप्रसाद गैरे कपिलवस्तुलाई लुम्बिनी प्रदेश कमिटीको सल्लाहकारमा मनोनीत गरिएको छ भने मणिरत्न भण्डारी रुपन्देही, डीबी थापा कपिलवस्तु, नारायण दत्त बाँके र तेज विष्ट दाङलाई प्रदेश सदस्यमा मनोनीत गरिएको छ ।
निजी सञ्चालकहरूले निजी विद्यालय कम्पनी ऐन अन्तर्गत नै राखिनुपर्ने र विद्यालय सञ्चालन सम्बन्धि छुट्टै कानुन बनाइनुपर्ने माग पनि गर्दै आएका छन् । हाल देशभरि करिब ८ हजार निजी विद्यालयहरुमा करिव २५ लाख विद्यार्थीहरु अध्ययनरत रहेको बताइन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ साउन २०८२, १२ : १४
लेखकबाट थप