कुनै नेता विशेष र पार्टी विशेषको बोली निर्वाचन आयोगले बोल्न मिल्दैन : नेता पुन

सफल खबर संवाददाता

आइतबार, १८ बैशाख २०७९, १५ : ५२
कुनै नेता विशेष र पार्टी विशेषको बोली निर्वाचन आयोगले बोल्न मिल्दैन : नेता पुन

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले निर्वाचन आयोगका प्रमुख आयुक्तको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । आइतबार १३३ औँ मे दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पुनले प्रमुख निर्वाचन आयुक्तको अभिव्यक्ति र प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति मिलेको भन्दै आपत्ति जनाएका हुन् ।

प्रमुख निर्वाचन आयुक्तको मतपत्र बलियो कागजमा राखेकाले चपाउन, च्यात्न सकिदैन भन्ने अभिव्यक्ति र ओलीको पनि सोही अभिव्यक्ति हुनु कसरी मिल्यो भन्ने उनले प्रश्न गरेका हुन् । कुनै नेता विशेष र पार्टी विशेषको बोली निर्वाचन आयोगले बोल्न नमिल्ने उनले बताए । नेता पुनले आयोगलाई निष्पक्ष र व्यवसायिक भुमिका निर्वाह गर्न पनि आग्रह गरे । उनले निर्वाचन आयोग रेफ्रिको भूमिकामा बस्नुपर्ने पनि बताए ।

उनले भनेका छन्, ‘हामी विभिन्न संवैधानिक निकायहरु, व्यक्तिहरु, प्रशासन, सबै संयन्त्रलाई निष्पक्षतापूर्वक निर्वाचन सम्पन्न गर्नपनि हामीले अपिल गर्न चाहान्छौँ । अनुरोध गर्न चाहान्छौँ । निर्वाचन आयोगका प्रमुख आयुक्त जस्तो व्यक्ति, त्यो कुर्सीमा बसेको व्यक्ति कोही पार्टीको हुँदैन । कोही समर्थक हुँदैन । एउटा हाइली प्रोफेसनल मान्छे । उच्च व्यवसायिक क्षमता भएको, दक्षता भएको मान्छे नै त्यहाँ पुग्ने हो संविधानले त्यो विश्वास गरेको छ । त्यस अर्थमा निर्वाचन आयोग आज रेफ्रिको भूमिकामा । रेफ्रि आफै मैदानमा ओर्लेर खेल खेल्न लाग्यो । गोल हान्न लाग्यो भने त्यो खेल कस्तो हुन्छ ?’

उनले थपे, ‘म निर्वाचन आयोगलाई पनि अनुरोध गर्न चाहान्छु, तपाईहरु पनि आफ्नो मर्यादामा बसेर निष्पक्ष ढंगले आम जनताले देख्ने, मतदाताले देख्नेगरी रेफ्रिको भूमिकामा बसिदिनुस् । रेफ्रि जति प्रोफेशनल हुन्छ, त्यो खेल त्यति नै फेयर हुन्छ । लोकतन्त्रमा निर्वाचन आयोग जति निष्पक्ष, व्यवसायिक, दक्ष हुन्छ । त्यति नै लोकतन्त्र सुदृढ हुन्छ । हिजो उहाँले भन्नुभयो असाध्यै दुःखका साथ मैले भन्नुपर्छ, हामीले मतपत्र बलियो कागज राखेका छौँ अब चपाउन, च्यात्न सकिदैन भन्नुभयो । त्यही कुरो केपी ओलीजीले बोलिराख्नु भएको छ । केपी ओलीजीको बोली र निर्वाचन आयोगको प्रमुखको बोली कसरी मिल्यो ? यसमा हाम्रो आपत्ति छ ।’

उनले फेरि भने, ‘निर्वाचन आयोगप्रति हाम्रो विश्वास छ, तर यस्ता बोलीहरु प्रति हाम्रो आपत्ति छ । कुनै नेता विशेष, कुनै पार्टी विशेषको बोली निर्वाचन आयोगले बोल्न मिल्दैन । हरेक व्यक्ति संविधान भित्र छ । कानून भित्र छ । आफ्ना आस्था आफ्ना ठाउँमा हुन्छ । राज्यका कुर्सीहरुमा बसिसकेपछि निष्पक्ष भूमिका, व्यवसायिक भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । म त्यो पनि अपील गर्न चाहान्छु राज्यका सबै निकायहरुलाई ।’

त्यस्तै उनले देशका विभिन्न ठाउँमा भएका निर्वाचन कार्यालयहरुले निष्पक्ष भूमिका खेल्न नसकेको पनि बताए । नेता पुनले संविधान र लोकतन्त्रको रक्षाको निम्ति वर्तमान गठबन्धन बनेको उल्लेख गर्दै वर्तमान उपलब्धिको रक्षापछि गठबन्धनका दलहरु आपसमा प्रतिस्पर्धा गर्ने बताए । उहाँले एमाले अध्यक्ष ओली वामपन्थी नभएको आरोप पनि लगाए ।

प्रतिक्रिया दिनुहोस