मलेसियामा नेपाली सुरक्षागार्डको तलब ३ हजार रिंगेट बनाउन प्रस्ताव

पत्रपत्रिकाबाट

आइतबार, १८ बैशाख २०७९, ०७ : ५३
मलेसियामा नेपाली सुरक्षागार्डको तलब ३ हजार रिंगेट बनाउन प्रस्ताव

काठमाडौं । नेपाली सुरक्षागार्डको तलब ३ हजार  रिंगेट बनाउन सरकारले मलेसियासँग प्रस्ताव राखेको छ । नेपाली कामदारका लागि प्रमुख रोजगार गन्तव्यमध्ये मलेसिया एक हो ।

मलेसिया भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले शनिवार त्यहाँका गृहमन्त्री हमजाह वीन जैनुदिनसँग द्विपक्षीय उच्चस्तरीय भेटवार्ताका क्रममा सो प्रस्ताव राखेका हुन् ।

मन्त्री श्रेष्ठले मलेसियामा रहेका नेपाली सुरक्षागार्डसहित अन्य श्रमिकको सेवासुविधा र अधिकारको विषयमा गृहमन्त्री जैनुदिनसँग छलफल गरेका थिए । सेवासुविधा बढाउने विषयमा मलेसिया सरकार सकारात्मक देखिएको श्रममन्त्री श्रेष्ठको सचिवालयले जानकारी दिएको छ । भेटवार्तामा नेपाल–मलेसिया सम्बन्धका साथै द्विपक्षीय हित र साझा चासोका विविध विषयमा कुराकानी भएको थियो ।

नेपाली कामदार मेहनती र इमानदार हुने चर्चा गर्दै गृहमन्त्री जैनुदिनले गोर्खा गार्डसका रूपमा मलेसियामा नेपालीको राम्रो प्रभाव रहेको बताएका थिए । भेटवार्तामा नेपाली युवालाई शीपयुक्त बनाई थप रोजगारीका अवसर प्रदान गर्ने, शून्य लागतको सिद्धान्तलाई प्रभावकारी बनाउने, स्वास्थ्य, सामाजिक सुरक्षा, चौबीसै घण्टा प्रभावकारी हुने बीमा सुविधाको व्यवस्थाबारे पनि छलफल भएको थियो । नेपालमा सुरक्षा गार्ड सम्बन्धी तालीमको व्यवस्था गरी शीपयुक्त बनाउनेबारे समेत उनीहरूबीच छलफल भएको थियो । आर्थिक अभियान दैनिकमा खबर छ ।