विप्लवको कारवाही हेमन्तप्रकाश–धर्मेन्द्र पक्षद्वारा खारेज

सफल खबर संवाददाता

शनिबार, १७ बैशाख २०७९, १२ : ०९
विप्लवको कारवाही हेमन्तप्रकाश–धर्मेन्द्र पक्षद्वारा खारेज

काठमाडाैँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट कारवाहीमा परेका हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोला पक्षको भेलाले पार्टीले गरेको कारवाहीको अर्थ नभएको निष्कर्ष निकालेको छ । हेमन्तप्रकाश र धर्मेन्द्र पक्षको भेलापछि एक प्रेस विज्ञप्ति जारी गर्दै विप्लवले गरेको कारवाही खारेज गर्दै आफ्ना सम्पूर्ण गल्तीहरु सच्याउन उनलाई आग्रह गरिएको हो।

विज्ञप्तिमा हेमन्तप्रकाश र धर्मेन्द्र पक्षले पार्टी निर्माणमा लाग्न केन्द्रीय समिति, जनवर्गीय संगठन, सहिद, वेपत्ता परिवार, घाइते तथा अपाङ्ग र राजबन्दी सबैलाई आग्रह गरेको छ । विप्लवमा वामपन्थी खोलभित्र दक्षिणपन्थी अवसरवाद देखिएकाले त्यसका विरुद्ध संघर्ष गरेको हेमन्तप्रकाश धर्मेन्द्र पक्षको भनाई छ।

‘हामी मालेमावाद, साम्यवादी पद्धति र जनताप्रति विश्वस्त भएर प्रतिक्रान्तिकारी तत्वहरु दार्शनिक रुपमा सारसंग्रहवाद, राजनीतिक रुपमा संसदवादी संशोधनवाद संगठनात्मक रुपमा निषेधात्मक अधिभूतवाद तथा विर्सजनवाद, वर्गसंघर्षका दृष्टिकोणले आत्मसुरक्षावाद र आर्थिक दृष्टिकोणले जुझारु ऋर्थवादका विरुद्ध लडिरहेका छौं’ विज्ञप्तिमा भनिएको छ, ‘समग्रमा तपाईको राजनीतिक चरित्रमा जुन प्रकारको वामपन्थी खोलभित्र दक्षिणपन्थी अवसरवाद देखिएको छ, त्यसका विरुद्ध संघर्ष गरेका छौं। यसर्थ हामीलाई विभिन्न तत्वहरुबाट उक्साएको भन्ने आरोप केवल आरोपकै पराकाष्ठा मात्रै हो। हामी इमान्दार नेता तथा कार्यकर्ता र जनतालाई यो आरोपबारे छानविन गरी न्याय गर्न हार्दिक अनुरोध गर्दछौं।’

चुनावी कार्यनीतिले पार्टीलाई विभाजनको स्थितिमा लैजाँदा पनि पार्टी एकताभन्दा चुनाव नै प्रधान बनाउन विप्लवलाई कसले प्रेरित गरेको छ भन्दै हेमन्तप्रकाश र धर्मेन्द्र पक्षले प्रश्न समेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस