काठमाडाैँ । सत्ता गठबन्धनभित्र भएको सहमति जाजरकोटका अधिकांश पालिकामा उम्मेदवारले लत्याइदिएका छन्। वैशाख १६ गते बेलुकी ५ बजे सम्म उम्मेदवारी फिर्ता लिने भनिए पनि जाजरकोटका तीन पालिकाका उम्मेदवारले मनोनयन फिर्ता नलिएपछि सहमति भाँडिएको हो।
मनोनय फिर्ता नलिएपछि अब एक्ला, एक्लै चुनाव लड्नुपर्ने अवस्था सिर्जना भएको छभेरी नगरपालिकामा नेकपा (एकीकृत समाजवादी)ले नगरप्रमुख र नेपाली कांग्रेसले उपप्रमुख पाउने गरी सत्ता गठबन्धनको निर्णय भएको थियो।
तर, कांग्रेस, नेकपा माओवादी केन्द्रले पूरै सेटसहित मनोनयन दर्ता गरेका थिए। गठबन्धनका विरुद्ध बागी मनोनयन दर्ता गरेका उम्मेदवारहरूको फिर्ता गर्ने निर्णय गरे पनि फिर्ता गर्न नमान्दा जिल्लामा टुंगो लागेका स्थानीय तह बाहेक अरू सबैमा एक्ला एक्लै लड्ने निर्णय गरिएको बताइएको छ।
भेरी नगरपालिका, नलगाड नगरपालिका, शिवालय गाउँपालिका, कुशे गाउँपालिकामा एक्ला एक्लै चुनावी मैदानमा जाने निर्णय भएको छ। छेडागाड, बारेकोट, जुनीचाँदे गाउँपालिकामा पहिले नै सत्ता गठबन्धन दलहरूको सहमति भइसकेको छ। नलगाड नगरपालिकामा सहमतिअनुसार माओवादीले प्रमुख र कांग्रेसले उपप्रमुख पाएको थियो।
माओवादीले प्रमुखमा मात्र मनोनयन दर्ता गरे पनि कांग्रेसले सबै पदमा उम्मेदवारी दिएपछि सहमति नभएको हो।मुख्य निर्वाचन अधिकृतको कार्यालय जाजरकोटका अनुसार भेरी नगरपालिकामा केही वडाध्यक्ष र वडा सदस्यहरुले मनोनयन फिर्ता लगेपनि नगर प्रमुख, उपप्रमुख कसैले पनि फिर्ता लिएका छैनन्।
कुशे गाउँपालिकामा एकीकृत समाजवादी र माओवादी केन्द्रले चुनावी गठबन्धन गर्ने भएका छन्। वैशाख १५ गते बागी उम्मेदवारले उम्मेदवारी फिर्ता लिने सत्ता गठबन्धनका नेताहरुले सहमति गरे पनि उम्मेदवारले त्यो कुरा नमान्दा सहमति बिथोलिएको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ बैशाख २०७९, १२ : ०४
लेखकबाट थप