काठमाडौं । अधिनायकवादबाट लोकतन्त्रलाई जोगाउन अमेरिकाले नेपालको साथ खोजेको छ । नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ वर्ष पुगेको अवसरमा नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी डब्लु बेरीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै उक्त कुरा बताएका हुन् ।
‘आजको दिनमा जलवायु सङ्कटलाई सम्बोधन गर्ने र बढ्दो अधिनायकवादबाट लोकतन्त्रलाई जोगाउने जस्ता कठिन समस्याहरूलाई समाधान गर्नका लागि हामीलाई पहिलेभन्दा बढी एकअर्काको आवश्यकता छ,’ राजदूत बेरीले भनेका छन्, ‘यो काम हामी एकअर्कासँग मिलेर गर्न उत्सुक छौँ र यसबाट फल प्राप्त गर्नेछौँ, जसरी पुस्तौँदेखिको हाम्रो मित्रताले हामीलाई प्रतिफल दिँदै आएको छ ।’
अमेरिका–नेपाल सम्बन्धको जग जनता–जनताबिचको सम्बन्ध, सार्वभौमिकता र लोकतान्त्रिक मूल्यमान्यता रहेको उनले स्पष्ट पारेका छन् । कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ वर्षको अवधिमा दुवै देशमा भएका परिवर्तनमा अमेरिका र नेपाल एकअर्काको साथमा उभिँदै आएको उनले बताएका छन् ।
अमेरिकी जनताले नेपालीहरूलाई चिकित्सा र विज्ञानमा प्रशंसनीय प्रगति गर्ने, पर्वतारोहीका रूपमा लगभग असम्भव उचाइमा पुग्ने, राष्ट्रसंघीय शान्ति सेनामा सम्मानजनक र बहादुरीका साथ सेवा गर्ने र कला र संस्कृतिको विशाल विविधतामार्फत विश्व सम्पदालाई समृद्ध बनाउने मानिसहरूका रूपमा चिन्ने गरेको उनले जनाएका छन् ।
‘यस साताले हामीलाई अमेरिकी र नेपालीहरूबिचको सम्बन्ध एक यस्तो सम्बन्ध हो जुन पुस्तौँदेखि चल्दै आएको छ र चलिरहने छ भन्ने कुराको स्मरण गराउँदछ,’ राजदूत बेरीले भनेका छन् ।
नेपालको स्वास्थ्य क्षेत्रमा अमेरिकाको ऐतिहासिक सहयोगले दुई देशबीचको साझेदारीलाई सशक्त झल्काउने दाबी उनले गरेका छन् । सन् १९५० को दशकमा औलोले लगभग २५ प्रतिशत जनसंख्यालाई असर गरेको स्मरण गर्दै उनले युएसएआईडीमार्फत अमेरिकी सरकारले औलो नियन्त्रण कार्यक्रमलाई सहयोग गरेको जनाएका छन् । अमेरिकी सहयोगकको कारण सन् १९६८ भित्र औलोका बिरामीहरूको संख्या राष्ट्रव्यापी रूपमा २० लाखभन्दा बढीबाट २ हजार ४६८ मा झरेका पनि उनले बताएका छन् ।
‘महामारी सुरु भएयताका पछिल्ला दुई वर्षमा अमेरिकाले नेपाललाई झन्डै ३८ लाख कोभिड–१९ खोपका मात्रा र १२ करोड ४८ लाख डलरभन्दा बढीको कोभिड सहायता प्रदान गरेको छ,’ उनले भनेका छन् ।
गत फागुनमा नेपाल सरकारले अनुमोदन गरेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यक्रमबाट नेपालमा ऊर्जा र यातायात क्षेत्रको आधुनिकीकरणमा मद्दत पुग्ने र २ करोड ३० लाखभन्दा बढी नेपाली जनता लाभान्वित हुने रातदूत बेरीले बताएका छन् ।
‘नेपालको समृद्ध इतिहासको अमेरिका प्रशंसा गर्दछ । सांस्कृतिक संरक्षणका लागि राजदूत कोष नामक कार्यक्रमले विश्वभरका सांस्कृतिक सम्पदाको संरक्षणमा मद्दत गर्दछ । झन्डै २० वर्षको अवधिमा यस कार्यक्रमले नेपालमा २५ ओटा सांस्कृतिक संरक्षण परियोजनालाई सहयोग गरी ३८ लाख डलरभन्दा बढी लगानी गरेको छ । यस कार्यक्रमका परिणाममध्ये काठमाडौँको सुन्दर गद्दी बैठकको जीर्णोद्धार पनि पर्दछ,’ राजदूतले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ बैशाख २०७९, १२ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकाले नेपाली सेनालाई दियो स्काई ट्रक र एयर एम्बुलेन्स
अमेरिका जाँदै हुनुहुन्छ ? पहिल्यै १५ हजार डलर धरौटी राख्नुपर्ने नियम आउँदै
प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने फ्रान्सको घोषणा अमेरिकाद्वारा खारेज
अमेरिकाद्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार
युक्रेनलाई अमेरिकाले शक्तिशाली हतियार सहयोग गर्ने
संयुक्त राष्ट्रसंघकी विशेषज्ञमाथि अमेरिकाको प्रतिबन्ध