काठमाडौं । रसिया–युक्रेन युद्धका कारण भारतले निर्यात गर्ने विद्युत् महँगो हुँदा नेपालले शुक्रवारबाट प्रतियुनिट ३८ रूपैयाँसम्म खर्चनु परेको छ ।भारतले सस्तोमा बिजुली उपलब्ध गराउन नसक्दा नेपालले जतिमा उपलब्ध हुन्छ त्यतिमै किन्नु परेको विद्युत् प्राधिकरणको भनाइ छ ।
प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईका अनुसार नेपालले बिहीवार २० भारतीय रूपैयाँ (भारू)मा खरीद गर्ने गरी प्रस्ताव पेश गरेको थियो ।
भारतीय बजारमा बिजुली निर्यातको भाउ प्रतियुनिट अधिकतम भारू २० पुगेको छ ।
सो भन्दा कममा प्रस्ताव हाल्दा नपाएपछि अधिकतम मूल्यमै खरीदको प्रयास गरेको प्राधिकरणले जनाएको छ ।
नेपालले भारू २० खर्चेर बिजुली किन्दा नेपाली ३२ रूपैयाँ पर्छ । तर, त्यसको चुहावटसहितको लागत जोड्दा ३८ रूपैयाँ पुग्ने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बताउँछन् ।
उनका अनुसार बढी मूल्यमा बिजुली किन्दा पनि तत्कालै भाउ बढाएर बिक्री हुँदैन । प्राधिकरणलाई यसबाट परेको चर्को घाटा एक हप्तादेखि १० दिनसम्म धान्न सकिन्छ । तर, त्यसपछि भने सरकारले हेरिदिनुपर्ने घिसिङको तर्क छ ।
यस्तो चर्को शुल्क अल्पकालीन भएकोले तत्कालै बिजुलीको भाउ नबढ्ने र लोडसेडिङ पनि नहुने उनी बताउँछन् ।
भारतको बिजुली व्यापार शेयर बजारजस्तै भएकोले राति १२ बजेदेखि २४ घण्टासम्म तिर्नुपर्ने मूल्यका लागि हरेक दिन बिहान १० देखि १२ बजेभित्रै प्रस्ताव पेश गर्नुपर्छ ।
यस्तो प्रस्तावमा बिहीवार भारू १८ मै पाइएको भए पनि अधिकतम भारू २० पुग्ने र सो भन्दा कममा आवेदन हाल्दा बिजुली नपाउने समस्या भएकोले अधिकतम दरमै प्रस्ताव हाल्न थालिएको प्राधिकरणका प्रवक्ता भट्टराईको भनाइ छ ।
भारतले निर्यात गर्ने बिजुली कोइलाबाट उत्पादन गरेर दिने गरेको छ । नेपालले सोही कोइलाबाट उत्पादित बिजुली आयात गर्छ ।
रसिया–युक्रेन युद्धका कारण कोइलाको आयात कम भएको र भारतमा अधिक माग हुँदा बिजुली उत्पादन महँगो परेको हो । निर्यात गर्ने बिजुली कोइलाबाट मात्रै उत्पादन गर्ने भारतीय नीति भएकाले पनि नेपालले अहिले महँगोमा किन्नुपर्ने बाध्यता आइलागेको हो ।
नेपालले अहिले महँगोमा बिजुली किन्नु परे पनि बेच्दा भने प्रतियुनिट ४ रूपैयाँ मात्रै छ ।
नेपाल–भारत एक्सचेन्ज योजनाअन्तर्गत यो वर्ष औपचारिक रुपमा जम्मा ३९ मेगावाट बिजुली मात्रै भारतलाई बिक्री गरेको छ । यस्तो बिजुलीको बिक्री दर ३ रूपैयाँ ५० पैसादेखि ४ रूपैयाँ मात्रै रहेको प्राधिकरणका प्रवक्ता भट्टराईले बताए ।
उनका अनुसार अहिले त नेपाललाई नै नपुगेर किन्नु परिरहेकोले बेच्ने कुरा भएन । किन्दा महँगो पर्ने भए पनि सिस्टमबाट एक्सचेन्ज हुँदा पाउने मूल्य भने ४ रूपैयाँ भन्दा बढी नभएको भट्टराईले जानकारी दिए ।
नेपालले पनि यसअघि २ देखि ६ भारूमै पाउने बिजुली अहिले मात्रै अधिक महँगो पर्न गएको उनको भनाइ छ ।
मासिक आम्दानी ७ अर्ब, घाटा भने ८ अर्ब
विद्युत प्राधिकरणले बिजुली बेचेर मासिक ७ अर्ब कमाउने गरेको छ । तर, पछिल्लो एक सातादेखि भने दैनिक २२ करोड रूपैयाँ घाटा हुन थालेको छ ।
यस्तो घाटा ३५ दिनमै ८ अर्ब पुग्ने अनुमान प्राधिकरणले गरेको छ । नेपालले आगामी एक डेढ महिना बिजुली आयात धेरै गर्नुपर्छ । त्यसपछि भने नेपालको प्रणालीमा थपिने र वर्षात् लागेसँगै आन्तरिक उत्पादन बढ्दा बिजुली आयात घट्ने हुन्छ ।
प्राधिकरणका अनुसार यसका ४६ लाख ५७ हजार ग्राहक छन् । यी ग्राहकले खपत गर्ने बिजुली मासिक ६९ करोड ३९ लाख युनिट छ ।
माघ महिनाको यस्तो तथ्यांकअनुसार प्राधिकरणले बिजुली बेचेर ६ अर्ब ८९ करोड रूपैयाँ आम्दानी गरेको छ । भारतीय बिजुली किन्नमै मासिक करीब ८ अर्ब रूपैयाँ खर्च हुने भएपछि प्राधिकरणले औद्योगिक क्षेत्रलाई आपूर्ति रोकेको थियो ।
औद्योगिक क्षेत्रमा आपूर्ति रोकिएपछि निजी क्षेत्रको दबाबपछि प्राधिकरणले महँगोमै खरीद गरेर भए पनि बिजुली ल्याउने निर्णय गरेको हो ।
प्राधिकरणले आयात गरेर किन्ने बिजुली महँगो परेको भए पनि बिक्री भने औसतमा ९.९४ रूपैयाँमा नै बिक्री गरिरहेको छ । यस्तो बिजुली बिक्रीका लागि प्राधिकरणले विभिन्न ९ वटा दर बनाएको छ । यस्तो बिजुलीको न्यूनतम दर घरायसी प्रयोजनलाई ८.८७ रूपैयाँ र व्यापारिक प्रयोजनमा १५.४१ रूपैयाँ प्रतियुनिटसम्म लिने गरेको प्राधिकरणले जानकारी दिएको छ ।
प्राधिकरणले बिक्री गर्ने बिजुलीबाट सबैभन्दा आम्दानी औद्योगिक क्षेत्रबाटै हुन्छ । औद्योगिक प्रयोजनमा जम्मा ६३ हजार ग्राहक छन् ।
यसबाट कुल आम्दानीकै ४२.५६ प्रतिशत रहेको छ । औद्योगिक क्षेत्रबाट प्राधिकरणले गर्ने आम्दानी मासिक दुई अर्ब ९२ करोड रूपैयाँ रहेको प्राधिकरणले उपलब्ध गराएको माघ महिनाको तथ्यांकमा उल्लेख छ ।
प्राधिकरणले गर्ने आम्दानीका दोस्रो स्रोत घरायसी प्रयोजनका ग्राहकबाट हो । घरायसी प्रयोजनका ४३ लाख २३ हजार ग्राहक छन् ।
प्राधिकरणको कुल ग्राहकमध्ये ९२.८१ प्रतिशत घरायसीकै छन् । यी ग्राहकले मासिक २७ करोड युनिट बिजुली प्रयोग गर्छन् । यसबाट प्राधिकरणले दुई अर्ब ४० करोड मासिक आम्दानी गर्ने गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ चैत्र २०७८, १२ : ११
लेखकबाट थप