काठमाडौँ। सल्यानको कालिमाटी गाउँपालिका–७ र्याङका स्थानीय वर्षौंदेखि खोलाको पानी खाँदै आएका छन्। खानेपानीको अन्य स्रोत नभएपछि र्याङका ७५ घरधुरी वर्षौंदेखि खोलाको पानी खान बाध्य भएका हुन्।गाउँपालिकादेखि टाढा रहेको बस्तीमा हालसम्म शुद्ध पानीको व्यवस्था नहुँदा खोलाको पानी उपभोग गर्न बाध्य भएका हुन्।
लामो समयसम्म पनि खानेपानीको अभाव हुँदा स्थानीय तथा केन्द्र सरकार बेखबर रहेको स्थानीयको गुनासो छ। स्थानीय तथा केन्द्र सरकारले अहिलेसम्म पनि खानेपानीको समस्या समाधानमा चासो नदिँदा आफूहरू मारमा परेको स्थानीय तिली पुनले बताइन्। वर्षामा धमिलो पानी खाने गरेको र आजभोलि खोलाको पानी पनि सुक्दै गएकाले थप समस्या भएको उनको भनाइ छ। शुद्ध खानेपानीको अभाव हुँदा अहिले खोलाको पानी खाँदा बिरामी पर्न थालेको उनले बताए।
खाना बनाउने, खाने तथा सरसफाइ गर्ने र पशु चौपायालाई पनि त्यही पानी खुवाउने गरेको स्थानीय पवित्रा पुनले बताइन्। खोलाको फोहोर पानी खाँदै आएका कारण धेरैलाई स्वास्थ्यमा समस्या आउने गरेको उनले बताइन्।
उनले भनिन्, ‘आजभोलि त खोलामा सफा पानी आउँछ तर वर्षामा धमिलो पानी पनि खान बाध्य हुन्छौँ, हामी बिरामी हुन्छौँ।' गर्मीयाम लागेसँगै खोलाको पानी पनि सुक्दै गएकाले अब यही खोलाको पानी पनि नपुग्ने समस्या भएको उनले बताइन्।
सो क्षेत्रमा खानेपानीको अभाव रहेको जानकारी भएको र त्यसको व्यवस्थापनमा निरन्तर लागि परेको कालिमाटी गाउँपालिका– ७ का वडाध्यक्ष नैनसिंह रानाले बताए। वडामा थोरै बजेट आउने भएकाले सानो बजेटबाट काम गर्न नसकेको बताए। खानेपानीका लागि पूर्वाधार विकास कार्यालय र विभिन्न संघ संस्थासँग अनुरोध गरिएको रानाले बताए।
जिल्लामा ६० प्रतिशत उपभोक्ताले खानेपानी पाएको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय सल्यानको तथ्यांक छ। बाँकी ४० प्रतिशत नागरिक खानेपानीको पहुँच बाहिर रहेको कार्यालयले जनाएको छ। सल्यानका अधिकांश क्षेत्र सुक्खा हुनुका साथै पानीका मुहान पनि पर्याप्त नहुँदा समस्या हुने गरेको कार्यालय प्रमुख पदमराज देवकोटाले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ चैत्र २०७८, १३ : ५८
लेखकबाट थप