विहार प्रदेश र मधेस प्रदेश सरकारबीच पर्यटन प्रवर्द्धनबारे वीरगञ्जमा छलफल

सफल खबर संवाददाता

बुधबार, ०९ चैत्र २०७८, १३ : ३५
विहार प्रदेश र मधेस प्रदेश सरकारबीच पर्यटन प्रवर्द्धनबारे वीरगञ्जमा छलफल

काठमाडौं ।‘आजादीका अमृत महोत्सव’ अन्तर्गत वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासले ‘विहार सरकार र मधेस प्रदेश सरकारबीच पर्यटनको प्रवर्द्धन’ बारे छलफल आयोजना गरेको छ।

द्विपक्षीय पर्यटन प्रवर्द्धन गरी दुवैतर्फका पर्यटकले भोग्नु परेका कठिनाइहरू समाधान गर्ने र यस सम्बन्धमा सरकारी तथा निजी निकायहरूबीचको सम्पर्क कायम गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको दूतावासले जनाएको छ।

उक्त कार्यक्रममा मधेस प्रदेशका उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुघ्न महतोले नेपालमा भारतीय सवारीसाधन, सडकबाट असुली हुने कर र अन्य कर असुलीमा सुधार र सहजीकरण गर्नेबारे आफ्नो धारणा राखेका थिए। उनले उठाइएका विन्दुहरूलाई उचित रूपमा लिइएको र समस्या समाधान गर्न उपयुक्त कदम चालिने जानकारी दिए।

कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी र एनआईडी पर्सा, पूर्वी चम्पारणका जिल्ला अधिकारी, पश्चिम चम्पारणका अतिरिक्त जिल्ला मजिस्ट्रेट, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत, पर्सा राष्ट्रिय निकुञ्जका प्रतिनिधि, होटल तथा टुर अपरेटरका प्रतिनिधि सहभागी थिए।

छलफलमा भारत र नेपालका तर्फबाट आ–आफ्ना धारणा राखेका थिए। चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज र वाल्मीकि टाइगर रिजर्भको सम्बन्धमा पार्दै वक्ताहरूले भारत र नेपालका पर्यटकीय गन्तव्य रामायण, बुद्ध र जैन सर्किटले जोडेको उल्लेख गरेका थिए।

मधेस प्रदेश र बिहारको पूर्वी तथा पश्चिम चम्पारण जिल्लामा पर्यटकीय गन्तव्य प्रवर्द्धनमा जोड दिइएको कार्यक्रममा सीमामा हेल्प डेस्क स्थापना गर्नुपर्ने विषयमा पनि छलफल भएको थियो।

प्रतिक्रिया दिनुहोस