तातोपानी भन्सारमा लक्ष्यभन्दा बढी राजस्व संकलन, निर्यात शून्य

सफल खबर संवाददाता

मंगलबार, ०८ चैत्र २०७८, ११ : ५६
तातोपानी भन्सारमा लक्ष्यभन्दा बढी राजस्व संकलन, निर्यात शून्य

काठमाडौं । चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट यस आर्थिक वर्षको माघ मसान्तसम्म लक्ष्यभन्दा बढी राजस्व संकलन भएको छ।माघ मसान्तसम्म दुई अर्ब चार करोड रूपैयाँ राजस्व संकलन भएको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत नारद गौतमले जानकारी दिए। ८२ करोड  ६४ लाख रूपैयाँ लक्ष्य रहेकामा यो लक्ष्यको २४७.१७ प्रतिशत हो।

आर्थिक वर्ष २०७८/७९ असार मसान्तसम्म एक अर्ब ६४ करोड लक्ष्य लिएकामा दुई अर्ब चार करोड रूपैयाँ राजस्व संकलन भएको थियो। राजस्व संकलन भए पनि आयात भने सहज नभएको प्रमुख गौतमले बताए। सोमबार दुईवटा मात्रै कन्टेनर भित्रिएको, कहिले आयात शून्य हुने उनको भनाइ छ। नाका सञ्चालन गर्न उच्चस्तरीय पहल गर्नुपर्नेमा प्रमुख गौतमले जोड दिए।

२०७२ सालको भूकम्प, बाढीपहिरो तथा  कोरोना महामारीपछि  नाका सजहरूपमा सञ्चालन हुन सकेको छैन। आयात कम रहेको छ भने निर्यात शून्य रहेको गौतमले बताए। नेपाल आइपुगेका १० मुख्य सामग्रीमा तयारी कपडा, स्याउ, होजियरी कपडा, जुत्ता चप्पल, ओखर, लेडिज सेण्डल, डबल क्याव पिकअप गाडी, हाते झोलालगायत छन्। भूकम्पअघि यस नाकाबाट दैनिक डेढ करोड रूपैयाँसम्म राजस्व असुली हुँदै आएको थियो।

प्रतिक्रिया दिनुहोस