चारलेन सडकका मजदुरले पाएनन् ज्याला, ठेकेदार अनुपविरुद्ध उजुरी दिने तयारी

सफल खबर संवाददाता

मंगलबार, ०८ चैत्र २०७८, ११ : २६
चारलेन सडकका मजदुरले पाएनन् ज्याला, ठेकेदार अनुपविरुद्ध उजुरी दिने तयारी

काठमाडौं ।  घोराही-तुलसीपुर चारलेन सडकका मजदुरले दुई वर्ष बितिसक्दा पनि काम गरेको ज्याला पाएका छैनन् ।घोराही-तुलसीपुरको २८ किलोमिटर चार लेन सडकको कपेटी ठेक्का लिएको अष्ट भैरव निर्माण सेवा कम्पनीमा काम गरेका ३०० बढी मजदुरले दुई वर्षदेखि ज्याला नपाएको बताएका छन् ।

तुलसीपुर-१८ का एक मजदुर तकमान घर्तीले ठेकेदार सम्पर्कविहीन भएपछि आफूले कामवापत पाउनुपर्ने ज्याला अहिलेसम्म नपाएको बताए ।दुई वर्षयता उनीहरू ठेकेदार खोज्दै प्रहरी-प्रशासन धाइरहेका छन् । ‘गर्मी, धुलो केही नभनेर काम गरियो’ उनले भने, ‘ठेकेदारले पैसा दिन्छु भन्दै झुलायो । दूई वर्ष भइसक्यो, एक पैसा पाएको होइन ।’ उनले ०७६ सालको पुसदेखि फागुनसम्म काम गरेवापत ४३ हजार ज्याला पाउन बाँकी रहेको बताए ।

अष्ट भैरव निर्माण सेवा कम्पनीमा चार लेन सडक निर्माणको काम गरेका ३०० बढी मजदुरले २४ हजारदेखि ४५ हजारसम्म ज्याला पाउन बाँकी रहेका बताएका छन् ।दुई वर्षदेखि ठेकेदार सम्पर्कविहीन हुने र पटक-पटक झुलाउँदै आएको पीडित श्रमिकले बताए । ज्याला नपाएको गुनासो लिएर प्रहरी पुग्दा पनि सुनुवाई नभएको उनीहरूले बताए । ‘ज्याला नदिएपछि प्रहरी चौकी धायौं’ तुलसपुर-१८ का अर्का मजदुर आयुबहादुर घर्तीले भने, ‘तर केही भएन ।’

गुनासो सुनुवाई नभएपछि २८ बढी मजदुरले सामूहिक रुपमा ठेकेदार अनुप पाण्डेविरुद्ध प्रहरीमा ठगी मुद्दा दर्ता गर्ने तयारी गरेका छन् । ‘काम गरेको ज्याला माग्दा ठेकेदारले झुलाउने र दुःख दिने काम गरे’ उनले भने, ‘केही उपाय नचलेपछि उजुरी दिने तयारी गरेका छौं ।’ आफूले काम गरेवाफतको ज्याला पाउनुपर्ने मजदुहरू बताउँछन् ।यसअघि, चार लेन सडक निर्माणको जिम्मा लिएको अष्ट भैरव निर्माण कम्पनीका पाण्डेविरुद्ध जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा गरी विभिन्न संघसंस्था र कम्पनी गरी १७ वटा ठगीको उजुरी परेको छ ।घोराही उपमहानगरपालिका-१५ भरतपुरका व्यवसायी गेहेन्द्र बस्नेतले निर्माण व्यवसायी पाण्डेले आफूसँग १ करोड ४४ लाख रुपैयाँ ठगी गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि पाण्डे ११ दिनअघि प्रक्राउ परी हाल प्रहरी हिरासतमा छन् ।\

चार लेन सडक निर्माण गर्नक्रममा आफ्नो सवारी साधन प्रयोग गरी भाडावापतको रकम एक करोड ४४ लाख १७ हजार ७७६ रुपैयाँ नदिएपछि व्यवसायी बस्नेतले पाण्डेविरुद्ध उजुरी दिएका थिए ।पक्राउ परेका पाण्डे तुलसीपुर मेयर एवम् नेकपा एमालेका नेता घनश्याम पाण्डेका छोरा हुन् ।

 

प्रतिक्रिया दिनुहोस