जेब्राक्रस मेटिँदा दाङमा बढ्यो दुर्घटनाको जोखिम

सफल खबर संवाददाता

मंगलबार, ०८ चैत्र २०७८, १० : ४०
जेब्राक्रस मेटिँदा दाङमा बढ्यो दुर्घटनाको जोखिम

काठमाडौं । तुलसीपुर उपमहानगरपालिका-५ का वीरेन्द्र पुनले तुलसीपुरको वीरेन्द्र चोकमा व्यवसाय गर्छन्। तुलसीपुरको मुख्य केन्द्रको रूपमा रहेको वीरेन्द्र चोकमा दैनिक जसो दुर्घटना भएको दृश्यहरू उनले देख्दै आएका छन्।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार चालु आर्थिक वर्षको हालसम्म दाङमा सडक दुर्घटनाबाट ५३ जनाले ज्यान गुमाएका छन् भने १२१ जना घाइते भएका छन्। सडकको अवस्था राम्रो नहुनु र जेब्राक्रसहरू पनि मेटिँदै गएकाले दुर्घटना हुने गरेको वीरेन्द्र बताए।‘वीरेन्द्र चोकमा ठूला खाडल छन्। जसले गर्दा दैनिक रुपमा दुर्घटना भइरहेको देख्दै आएको छु,’ उनले भने, ‘दुई लेनको सडक छ। यसैमा गाडीहरूको भिडभाड अत्याधिक हुन्छ। गाडीहरू स्पीडमा आउँछन्। भएका जेब्राक्रस पनि मेटिएका छन्।’

सामाजिक सञ्जालमा सडकको अवस्थाबारे पटकपटक कुरा उठाउँदै आए पनि अहिलेसम्म कसैको ध्यान नगएको वीरेन्द्र बताउँछन्। भत्किएका सडकको मर्मतसम्भार नगर्दा दूरवस्था भएको सडकमा खानेपानीको नाला मर्मत गर्ने क्रममा सडक खन्दा त्यसले झन् जोखिम बढेको उनको भनाइ छ। तुलसीपुर उपमहानगरपालिका भए पनि व्यवस्थित शहर नहुँदा सर्वसाधारणले सास्ती भोग्नु परेको वीरेन्द्र बताउँछन्। चोकमा भएका जेब्राक्रसहरू मेटिएकाले सर्वसाधारणहरूले जथाभावीबाट सडक पार गर्ने गरेका छन्। जसका कारण पनि दुर्घटना हुने गरेको छ।

विजय बुढाथोकी विद्यार्थी हुन्। उनले पनि उपमहानगरको सडकको अवस्था देखेर दुःख लाग्ने गरेको बताए। बिहान-बेलुकी अफिस सयममा गाडीको चाप धेरै हुँदा पैदल यात्रीहरूलाई हिँड्न समस्या हुने गरेको विजय बताए। ‘म पनि दुई तीन पटक दुर्घटना हुनबाट बचेको छु। जेब्राक्रसबाट बाटो काटिरहेका बेला तीव्र गतिमा आएको गाडीले झन्डै हान्यो‚’ उनले भने‚ ‘एक त सडकमा जेब्राक्रस कहाँ छ भन्ने देखिँदैन। त्यसमा पनि बजारभित्र तीव्र गतिमा गाडी गुडाउँछन्।’

सडक पेटीमा ब्यापार हुँदा पनि पैदल यात्रीहरूलाई हिँड्न समस्या भएको विजयले बताए। त्यस्तै‚ जेब्राक्रस भएको ठाउँमा गाडी पार्किङ गरेर राख्दा पनि समस्या भोग्नु परेको उनको गुनासो छ।दाङका दुई उपमहानगरपालिका तुलसीपुर र घोराही पुराना शहर हुन्। यी शहरमा शहरीकरणसँगै जनसंख्या पनि बढ्दै गएको छ। सवारी साधनको चाप पनि बढ्नु र फरालिका सडक नहुँदा दुर्घटनाको जोखिम बढेको स्थानीयहरू बताए। 

जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरीक्षक थम्मन जिसीले तुलसीपुर, घोराही, लमही र भालुबाङमा गरी ५२ ठाउँमा जेब्राक्रस बनाइएको बताउँछन्। ती ठाउँमा जेब्राक्रस मेटिएको उनले पनि स्वीकारे।शहरका भित्र सडकहरूमा अहिले पनि जेब्राक्रस प्रयोगमा छन्। तर, मुख्य सडकहरूमा सडक कमजोर हुँदा, खाल्टा खुल्टी पर्दा जेब्राक्रस मेटिएका छन्‚’ प्रहरी निरीक्षक जिसीले भने‚ ‘जसले गर्दा पैदल यात्रीलाई बाटो काट्ने असहज भएको छ।’

जेब्राक्रस बनाउने जिम्मा सडक विभागको भए पनि विभागले उक्त काम नगर्दा बेलाबेला आफूहरूले स्थानीय तहसँग समन्वय गरेर बनाउँदै आएको प्रहरी निरीक्षक जिसी बताउँछन्। त्यसरी बनाइएका जेब्राक्रस पनि मेटिएर जाने गरेको उनले बताए। बजारका मुख्य ठाउँमा जेब्राक्रस भएमा पैदल यात्रीले सहज रुपमा बाटो काट्ने सक्ने र दुर्घटनाको जोखिम पनि कमी हुने प्रहरी निरीक्षक जिसी बताए।  यता सडक डिभिजन कार्यालय दाङका सूचना अधिकारी इन्जिनियर अमीर सुवेदीले कतिपय सडक आफ्नो कार्यक्षेत्रमा परेका र कति नपरेकाले पनि समस्या भएको बताए। घोराहीको कटुवा खोलादेखि सिटी प्लाजासम्मको सडक मदन भण्डारी सडक आयोजना कार्यालय सुर्खेतले हेर्ने उनले बताए। उनले आफ्नको कार्यालयको कार्यक्षेत्रमा भएका सडकमा कालोपत्रे‚ मर्मत गर्दै आए पनि जेब्राक्रस बनाउने बजेट नभएको बताए।

‘अहिले भत्किएको सडक टालटुल गर्ने र कालोपत्रे हुन बाँकी रहको सडकमा कालोत्रपे गर्न ठेक्कापट्टा भएको छ। यसको काम अब तत्काल अगाडि बढ्छ‚’ उनले भने‚ ‘तर, जेब्राक्रस निर्माण गर्न अहिले बजेट छैन। अर्को आर्थिक वर्षमा बजेट छुट्याएर काम गर्ने छौँ।’सूचना अधिकारी सुवेदीले कार्यालयले यसअघि सडकमा भएका खाल्डाखुल्डी पुर्नेमा मात्र ध्यान दिएकाले जेब्राक्रम निर्माण नभएको पनि स्वीकारेका छन्। 

प्रतिक्रिया दिनुहोस