राप्रपाले चैत २५ गते काठमाडौंको खुलामञ्चमा आमसभा गर्ने

पत्रपत्रिकाबाट

सोमबार, ०७ चैत्र २०७८, ०७ : १६
राप्रपाले चैत २५ गते काठमाडौंको खुलामञ्चमा आमसभा गर्ने

काठमाडौं । राजनीतिक दलहरुले स्थानीय तहको चुनाव केन्द्रित कार्यक्रमलाई तीव्रता दिन थालेका छन् ।

आउँदो ३० वैशाखमा स्थानीय तहको निर्वाचन  हुने भएसँगै दलहरु चुनाव केन्द्रित कार्यक्रममा व्यस्त रहन थालेका हुन् । निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न पार्टीका केन्द्रीय नेतृत्व नै जिल्ला जिल्लामा पुग्ने क्रम चलिरहेको छ ।

गत मंसिरमा सम्पन्न महाधिवेशनले राजेन्द्र लिङ्देनलाई अध्यक्ष चयन गरेपछि राप्रपाप्रति जनताको आशा, विश्वास र भरोसा बढेको देखिन्छ ।

देशभर ठूला, मझौला र साना सभाहरु गरिरहेको राप्रपाले चैत २५ गते काठमाडौंको खुलामञ्चमा आमसभा गर्ने भएको छ । पार्टीको बागमती प्रदेश समितिको आयोजनामा हुने आमसभालाई राप्रपाले शक्ति प्रदर्शनको रुपमा तयारी गर्ने प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताएका छन् ।

आमसभालाई भव्य, व्यवस्थित बनाउन प्रदेश अध्यक्ष विक्रम बहादुर थापाको संयोजकत्वमा ५५५ सदस्यीय आयोजक समिति गठन गरेको छ । काठमाडौं, ललितपुर र भक्तपुरका अध्यक्षहरु सह संयोजक र केन्द्रीय सदस्य आशा लामा सदस्य सचिव रहेका छन् ।

समितिमा बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाका अध्यक्षहरु, बागमती प्रदेश कार्यसमितिका पदाधिकारी, सदस्यहरु, प्रदेश भित्रका भातृ संगठनका केन्द्रीय तथा जिल्ला समितिका पदाधिकारी, सदस्यहरु, प्रतिनिधि सभा, प्रदेश सभा, महानगर, नगर र गाउँपालिकाका अध्यक्षहरु समितिमा रहेका छन् ।

आमसभालाई व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न उपसमिति पनि गठन गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् । उपाध्यक्षहरु ध्रुब बहादुर प्रधान, रोशन कार्की र हेमजङ्ग गुरुङको उपस्थितिमा आइतबार मुल समितिको पहिलो तयारी बैठक बसेको र बैठकले काठमाडौंमा हुने सभालाई विशाल बनाउन आवश्यक तयारी गर्ने भएको छ । 

परम्परागत र सम्भ्रान्त नेतृत्वले लामो समय निरन्तरता पाएको राप्रपामा लिङ्देनको उदय भएपछि राप्रपा तिर जनताको आकर्षण बढिरहेको देखिन्छ । लिङ्देन जहाँ पुग्छन् त्यहाँ राप्रपाका नेता कार्यकर्ता मात्रै होइन आम जनताको सहभागीता उल्लेखनीय रुपमा भइरहेको छ ।

पछिल्लो एक महिनामा लिङ्देनको देशव्यापी दौडाहा चलिरहेको छ, उनले फागुनबाट शुरु गरेको दौडाहा सिन्धुलीसम्म पुग्दा ४१ वटा सभालाई सम्बोधन गरिसकेका छन् ।

लिङ्देनले आइतबार मात्रै भक्तपुर, काठमाडौं र ललितपुरमा आयोजित छुट्टाछुट्टै तीनवटा सभालाई सम्बोधन गरेर सोमबार सुनसरीको चक्रघट्टीमा हुने सभामा सहभागी हुन त्यसतर्फ लागेका छन् ।

राप्रपा र लिङ्देनको क्रेज बढेसंगै नेपाली राजनीतिको आगामी समीकरण र शक्ति सन्तुलनमा फेरबदल आउन सक्ने कतिपयको विश्लेषण रहेको छ ।

प्रतिक्रिया दिनुहोस