काठमाडौँ । नेकपा एमालेले महानगरपालिका तथा उपमहानगरपालिकाको मेयर तथा उपमेयर उम्मेदवार केन्द्रले छनोट गर्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकले स्थानीय तहको उम्मेदवार छनोट विधि निर्धारण गरेको हो ।
जसअनुसार महानगर र उपमहानगरपालिकाको मेयर तथा उपमेयर उम्मेदवार केन्द्रले नै तय गर्ने छ । ‘प्रदेश कमिटीको सिफारिसमा महानगरपालिका तथा उपमहानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार केन्द्रले गर्ने विधि तय गरिएको छ,’ प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङले भने, ‘महानगरपालिकाका वडाध्यक्ष र सदस्यहरुको बारेमा निर्णय प्रदेश कमिटीले गर्छ ।’
काठमाडौं, ललितपुर, पोखरा, भरतपुर, वीरगंज, विराटनगर महानगरपालिका र ११ वटा उपमहानगरपालिका छन् । त्यसैगरी नगरपालिकाका मेयर, उपमेयर र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षको उम्मेदवारको निर्णय भने प्रदेश कमिटीले गर्ने छ । ती उम्मेदवारहरुको सिफारिस जिल्ला कमिटीले गर्ने गुरुङले बताए । देशभर २ सय ७६ नगरपालिका र ४ सय ६० गाउँपालिका छन् ।
त्यसैगरी, वडाध्यक्षको उम्मेदवारहरुको जिल्ला कमिटीले निर्णय गर्ने छ । ‘पालिका कमिटीहरुको सिफारिसमा जिल्लाले यस विषयमा निर्णय गर्ने छ,’ गुरुङले भने, ‘कुनै स्थानका उम्मेदवारहरुको बारेमा विवाद भएमा एक तह माथिको कमिटीले त्यस विषयमा निर्णय गर्ने छ ।’ एमाले स्थानीय तह निर्वाचनका लागि केन्द्रले नै घोषणापत्र तयार पार्ने भएको छ । बुद्धिजीवी परिषद्को प्रस्तावमा नीति अनुसन्धान प्रतिष्ठानको समन्वयमा तयार हुने घोषणा पत्रलाई केन्द्रीय कमिटीले पारित गर्ने प्रमुख गुरुङले बताए ।
‘बुधबार त्यस विषयमा कार्यशाला गोष्ठी हुँदैछ,’ गुरुङले भने, ‘केन्द्रको घोषणापत्र हुन्छ र ७ सय ५३ स्थानीय तहको प्रतिबद्धता पत्र जारी गर्छन् ।’ प्रतिबद्धता पत्रमा स्थानीय तहले हालसम्म गरेको काम र आगामी दिनमा गर्ने कामको बारेमा विवरण रहने छ । उम्मेदवार छनोटको मापदण्ड चैत ९ र १० गते हुने केन्द्रीय कमिटीको बैठकले तय गर्ने छ । ‘केन्द्रीय कमिटीको बैठकमा प्रदेशका अध्यक्षहरुले समग्र कामको रिपोर्ट गर्छन्,’ गुरुङले भने, ‘हाम्रो पार्टी र अन्य दलहरुको अवस्थामा कस्तो छ भन्ने विषयमा जिल्लागत रिपोर्टिङ हुनेछ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ चैत्र २०७८, २१ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संवैधानिक र लोकतान्त्रिक उपलब्धि रक्षाका लागि संवादमा आउन राजनीतिक दलहरूलाई एमालेको अपिल
भरतपुरमा एमाले पार्टी कार्यालयमा आगजनी
एमालेको केन्द्रीय कार्यालयमा आगजनी
एमाले मन्त्रीलाई राजीनामा नदिन प्रधानमन्त्रीको ह्विप
ओलीको झोले नबन्ने भन्दै एमाले छोड्नेको लर्काे
एमालेको भावी अध्यक्षमा ओली निर्विकल्प