सिरियामा मानवीय सहायताको खाँचो रहेको संयुक्त राष्ट्रसंघको भनाई

एजेन्सी

विहीबार, १९ फागुन २०७८, १३ : २९
सिरियामा मानवीय सहायताको खाँचो रहेको संयुक्त राष्ट्रसंघको भनाई

एजेन्सी । संयुक्त राष्ट्रसंघले सिरियाको उत्तरपश्चिमी क्षेत्रका लाखौँ नागरिकलाई मानवीय सहायताको तत्कालै खाँचो परेको जनाएको छ । संयुक्त राष्ट्रसंघका मानवीय सहायतासम्बन्धी एजेन्सीका प्रमुख मार्टिन गिरिफिथले सो कुरा बताए ।

उनले अहिले नै सिरियामा कम्तीमा पनि एक करोड ४६ लाख मानिसहरु मानवीय सहायताको पर्खाइमा रहेको बताएको छ ।त्यस्तै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ताले सो विषयमा जानकारी गराए।

उनले सिरियामा अहिले सम्म आन्तरिक रुपमा अर्थात् देशभित्रै विस्थापित भएकाहरुको संख्या ६९ लाख रहेको छ । उनीहरुमध्ये सबैलाई खाद्यान्न औषधिदेखि बाससम्मको आवश्यकता रहेको पनि उनले बताए ।

उक्त संस्थाले आगामी महिनादेखि नै कतिपय स्थानमा खाद्यान्नकै अभाव हुन थाल्ने पनि स्पष्ट गरेको छ ।सिरियाली ती क्षेत्रका मानिसलाई अहिले खाना, औषधि तथा अन्य आधारभूत तथा अत्यावश्यकताका सामग्रीहरुको खाँचो रहेको संयुक्त राष्ट्रसंघीय प्रवक्ताले बताए ।

यस अघिदेखि नै संयुक्त राष्ट्रसंघका मानवीय सहायतासम्बन्धी निकायका अधिकारीहरुले सिरियाको उत्तरपश्चिमी क्षेत्रमा बसोबास गरिरहेका ३४ लाख नागरिकमध्ये ९० प्रतिशतलाई मानवीय सहायताको खाँचो रहेको बताउँदै आएका थिए ।

ती नागरिकहरु सिरियामा करिब एक दशकको समयमा द्धन्द्धको चपेटामा परेका छन् । जसका कारणले अहिले आएर आर्थिक संकट थपिएको छ । उनीहरु खाना र बासकै समस्यामा परेका बताइएको छ ।

सिरियाका अधिकांश क्षेत्रहरु द्वन्द्वग्रस्त क्षेत्रमा परेका छन् । ती क्षेत्रमा अहिले पनि सरकारले सहायता सामग्री पु¥याउन सकिरहेको छैन ।संयुक्त राष्ट्रसंघका अधिकारीहरुले पछिल्लो समयमा त्यहाँ कोभिडको पनि समस्या उत्पन्न भएको छ । सिरियामा सन् २०११ देखि नै यहाँका राष्ट्रपतिका विरुद्धमा जनआन्दोलन चर्किएको थियो । सिरिया लामो समयदेखि हिंसा जारी छ ।

यहाँ गृहयुद्ध सुरु भएकाले लाखौँ नागरिक यस हिंसाका कारण विस्थापित पनि हुन पुगेका छन् । साथै यहाँका कम्तीमा पनि चार लाख नागरिकले ज्यान गुमाउनु परेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस