अवैध रुपमा ल्याउँदै गरेको ९३६ ग्राम सुनसहित त्रिभुवन विमानस्थलबाट बंगलादेशी नागरिक पक्राउ

सफल खबर संवाददाता

मंगलबार, १० फागुन २०७८, १३ : ४६
अवैध रुपमा ल्याउँदै गरेको ९३६ ग्राम सुनसहित त्रिभुवन विमानस्थलबाट बंगलादेशी नागरिक पक्राउ

काठमाडौं । भन्सार छलिगरी ल्याउँदै गरेको ९३६ ग्राम अर्धठोस सुन सहित ४७ वर्षीय बंगलादेशी नागरिक मोहम्मद तोफिक उल्लाहलाई प्रहरीले पक्राउ गरेको छ ।राहदानी नम्बर ए००२६२२२९ वाहक मोहम्मदलाई सोमबार प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । 

हिमालयन एयरलाईन्सको उडानद्वारा दुबईबाट काठमाडौं आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा खटीएको प्रहरीले जाँच गर्ने क्रममा पक्राउ गरिएको थियो । 

उनले लगाएको जिन्स पाईन्टको कम्मरको भागमा फल्स बटम बनाई र भित्री वस्त्रमा समेत लुकाई ल्याएको सुन फेला पारेपछि प्रहरीले पक्राउ गरेको थियो । सोधपुछको क्रममा उनले उक्त सुन भारतीय नागरिक ४० वर्षीय पारस नाथ साहले ल्याउन लगाएको बताएका थिए । त्यसपछि यू५४४०२८१ नम्बरको राहदानी वहाक पारसलाई प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा लिएको थियो । 

उनीहरूलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको  छ ।

प्रतिक्रिया दिनुहोस