एक्लै तीनवटा मोटरसाइकल चोरी गर्ने एकजना पक्राउ

सफल खबर संवाददाता

आइतबार, ०८ फागुन २०७८, १६ : ४३
एक्लै तीनवटा मोटरसाइकल चोरी गर्ने एकजना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले तीनवटा मोटरसाइकल चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–३२ नरेफाँट सत्य साईबाबा मन्दिर नजिकबाट काठमाडौँ बानेश्वरका २१ वर्षीय पुल्कित ठकुरीलाई शुक्रबार राति पक्राउ गरेको हो।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जाँचका क्रममा बा ९२ प ३८ लेखिएको बुलेट मोटरसाइकलको अगाडि–पछाडिको अंक टेपले छोपेर हिँडिरहेको अवस्थामा ठकुरीलाई पक्राउ गरिएको जानकारी दिए।

‘पक्राउ परेका ठकुरीसँग आवश्यक अनुसन्धानका क्रममा अन्य दुईवटा मोटरसाइकलसमेत चोरी गरेको भेटिएको छ,’ उनले भने। ठकुरीले उक्त मोटरसाइकल ललितपुरको मंगलबजारबाट चोरी गरेको स्विकारेको प्रवक्ता मैनालीले बताए।

पक्राउ परेका ठकुरीसँग प्रहरीले पल्सर र एभेन्जर मोटरसाइकलसमेत बरामद गरेको छ। प्रहरीले ठकुरीलाई मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद–२० अन्तर्गत दफा २४१ को ‘चोरी गर्न नहुने कसुर’ मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको प्रवक्ता मैनालीले बताए।

प्रतिक्रिया दिनुहोस