माओवादी जनयुद्धका सहिद परिवारलाई मधेस सरकारले आर्थिक सहयोग गर्ने

सफल खबर संवाददाता

विहीबार, २७ माघ २०७८, १२ : ५१
माओवादी जनयुद्धका सहिद परिवारलाई मधेस सरकारले आर्थिक सहयोग गर्ने

काठमाडौं । मधेस सरकारले माओवादीले गरेको जनयुद्धका सहिद भएकाहरुको परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । आन्तरिक मामिला तथा संचार मन्त्रालय मातहत रहेको मधेसी सहिद प्रतिष्ठानले माओवादी जनयुद्ध सहिद परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।

फागुन १ मा जनयुद्ध दिवसको अवसर पारेर सहिद परिवारलाई सो दिन जनही एक लाख रुपैयाँको दरले सहयोग गर्ने निर्णय भएको आन्तरिक मामिला तथा संचार मन्त्री भरत प्रसाद साहले जानकारी दिए ।

प्रतिष्ठानका अध्यक्ष समेत रहेका मन्त्री साहका अनुसार फागुन १ गते एक लाख र पछि दुई लाख रुपैयाँ दिइने निर्णय भएको छ ।आर्थिक सहयोग उपलब्ध गराउनका लागि मन्त्रालयले प्रदेशका ८ वटै जिल्ला प्रशासन कार्यालयलाई जनयुद्धका क्रममा सहिद भएकाको परिवारको तथ्यांक पठाउन पत्राचार गरिसकेको छ ।

जिल्ला प्रशासनले पठाएको तथ्यांकलाई आधार मानेर सहिद परिवारलाई आर्थिक सहयोग गरिने मन्त्री साहले बताए । मन्त्रालयले प्रदेशभर ६ सय सहिद परिवार रहेको अनुमान गरेको छ । 

यसअघि माघ ५ मा मधेस आन्दोलनको स्मरणमा मधेस सरकारले बलिदानी दिवसको अवसर पारेर मधेस आन्दोलनका सहिद परिवारलाई जनही तीन लाख रुपैयाँका दरले आर्थिक सहयोग गरेको थियो ।
 

प्रतिक्रिया दिनुहोस