बेइजिङमा हिउँदे ओलम्पिक सुरू

सफल खबर संवाददाता

शनिबार, २२ माघ २०७८, १४ : ०३
बेइजिङमा हिउँदे ओलम्पिक सुरू

बेइजिङ । तामझामका साथ २४औं हिउँदे ओलम्पिक खेलकुदको शुक्रबार राति बेइजिङस्थित न्याओछाओ अर्थात् बर्ड नेस्ट रंगशालामा उद्घाटन गरिएको छ । चीनका राष्ट्रपति सी चिनफिङले स्थानीय समयअनुसार राति ८ बजे खेलको उद्घाटन गरे ।

उद्घाटन समारोहमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमास बाख, संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसलगायत अन्तर्राष्ट्रिय संघसंगठनका जिम्मेवार व्यक्तिहरू, रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलगायत ३० भन्दा बढी मुलुकका शीर्ष नेताहरू उपस्थित थिए ।

नेपालका तर्फबाट बेइजिङस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत कौशलकिशोर रायले प्रतिनिधित्व गरेका छन् । शुक्रबार सुरु भएको हिउँदे ओलम्पिक फेब्रुअरी २० मा समापन हुने तालिका छ । प्रतियोगितामा ३ हजार खेलाडीले १५ विधाका १०९ वटा इभेन्टमा भाग लिनेछन् । यस पटकको ओलम्पिकमा ७ वटा नयाँ इभेन्ट थपिएका छन् ।

संसारमा कोभिड १९ फैलिएयता २०२० टोकियो ओलम्पिक पछिको यो नै दोस्रो ठूलो खेलकुद गतिविधि हो । बेइजिङ नै ग्रीष्मकालीन तथा हिउँदकालीन दुवै खेलकुद एकै सहरमा गर्ने विश्वको प्रथम सहर बनेको छ।

ओलम्पिक उद्घाटनको दुई दिनअघि नै प्रतियोगिताहरू संचालनमा आइसकेका छन् । प्रतियोगिताहरू बेइजिङको राष्ट्रिय रंगशाला बर्ड नेस्ट, यानछिङ जिल्ला र छिमेकी हपेइ प्रान्तको चाङ्च्याखौमा खेलिनेछन् ।

खेलकुद गतिविधिमा अमेरिका, भारत लगायतका केही मुलुकले चीनसँगका आ(आफ्ना असन्तुष्टि देखाउँदै कूटनीतिक बहिस्कार गरेका छन् । कूटनीतिक बहिष्कार गरेपनि ती देशबाट खेलाडीहरूको भने उत्साहजनक सहभागिता छ । अमेरिका नै सबैभन्दा धेरै खेलाडी बेइजिङ पठाउने मुलुक हो ।

प्रतिक्रिया दिनुहोस