पर्यटन बोर्डका निलम्बित सिईओ धनञ्जय रेग्मी सुन तस्करीमा मुछिए

सफल खबर संवाददाता

आइतबार, ०२ माघ २०७८, २१ : ००
पर्यटन बोर्डका निलम्बित सिईओ धनञ्जय रेग्मी सुन तस्करीमा मुछिए

काठमाडौँ । नेपाल पर्यटन बोर्डका निलम्बित सिईओ धनञ्जय रेग्मीले सुन तस्करी गरेको आरोप ठहर भएको छ । उनले चार वर्षअघि कतारबाट क्यूआर ७३०दनम्बरको जहाजमा आउँदा अवैध सुन पैठारी गरेका थिए ।

रेग्मीले २०७४ पुस ७ गते ल्याएको अवैध सुनलाई तस्करी ठहर गरेर त्रिभुवन विमानस्थल भन्सार कार्यालयले १ लाख ४० हजार ६ सय ८५ रुपैयाँ जरिवाना र सुन जफत गरेको व्यहोराको पत्र संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले पुस ३० गते लेखेर जानकारी गराएपछि रेग्मीको अर्को विगत बाहिरिएको हो ।

निजले भन्सार ऐन २०६४ को दफा २ (च) तथा दफा ५७ (१) बमोजिमको कसुर अपराध गरेको ठहर गर्दै बिगोबमोजिम १ लाख ४० हजार ६ सय ८५ रुपैयाँ जरिवानाको निर्णय गरेको थियो ।

कार्यालयले ०७२७४६८७ नम्बरको राहदानी र १३४०५ नम्बरको स्याङजा जिल्लाबाट जारी नागरिकता बोकेका धनञ्जय रेग्मी उक्त दिन काठमाडौं ओर्लिएको र त्यसबखत उनको साथबाट तीन थान ३० ग्राम बिस्कुट आकारको सुन फेला पारेको थियो ।

प्रतिक्रिया दिनुहोस