प्रधानन्यायाधीश जबराले राजीनामा नदिँदा न्याय क्षेत्र प्रभावित भयोः अध्यक्ष श्रेष्ठ

सफल खबर संवाददाता

विहीबार, २९ पुस २०७८, १४ : ०८
प्रधानन्यायाधीश जबराले राजीनामा नदिँदा न्याय क्षेत्र प्रभावित भयोः अध्यक्ष श्रेष्ठ

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजीनामा माग गर्दै कानून व्यवसायीहरुले आज पनि बिरोध प्रदर्शन गरेका छन् । बिहीवार सर्वोच्च अदालत बार परिसरमा नेपाल बार एशोसिएशन, सर्वोच्च अदालत बार एशोसिएशन, विशेष अदालत बार एशोसिएशन लगायतका पदाधिकारी तथा कानून व्यवसायीहरुले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै बिरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा सञ्चारकर्मीहरुसँग बोल्दै नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराले राजीनामा नदिँदा न्याय सम्पादनका साथै कर्मचारीहरुको वृत्ति विकासमा, न्यायाधीशहरुको सरुवाका कामहरु रोकिएको बताए । उनले  प्रधानन्यायाधीश जबराले राजीनामा दिएसँगै न्यायपालिकामा बारले बुझाएको प्रतिवेदनअनुसार काम गर्ने बाटो खुल्ने बताए । 

अध्यक्ष श्रेष्ठले भने, ‘न्यायपालिकाको सुधारको लागि प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको कारणले गर्दा न्यायपालिकाको न्याय सम्पादन, न्याय प्रशासनमा, न्याय आयोगबाट कर्मचारीहरुको वृत्ति विकासमा, न्यायाधीशहरुको सरुवाका कामहरु रोकिएका छन् । उहाँको राजीनामा नआएकोले सम्पूर्ण कामहरु ठप्प भइरहेकोले निकास दिनको लागि उहाँको बहिर्गमन आवश्यक छ । त्यो दिलाउनको लागि हामीले जुन आन्दोलन उठाएका थियौँ, उहाँको राजीनामाको साथै जुन दिन उहाँले राजीनामा दिनुहुन्छ त्यो दिनबाट न्यायपालिकाको सुधारका लागि हामीले जो प्रतिवद्धता गरिरहेका थियौँ । त्यो प्रतिवेदन कार्यान्वयनका लागि बाटो खुल्छ । त्यो बाटो बन्द गर्नुभनेको सेवाग्राहीहरुलाई न्याय  नदिनको लागि न्याय किनबेच गराइराख्नको लागि रहेको हुन्छ । त्यो अवस्था बारले चाहँदैन ।’

त्यस्तै विशेष अदालत बार एशोसिएनका अध्यक्ष तथा अधिवक्ता चुडामणि पौडेलले प्रधानन्यायाधीश जबराले राजीनामा नदिँदा केही जिल्लाहरुमा जबरालाई देखाएर आफ्नो स्वार्थपूर्ति गर्न थालेको बताए । उनले प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म नेपाल बारले यो आन्दोलनलाई सशक्त बनाउँदै जाने बताए ।

अध्यक्ष पौडेलले भने, ‘चोलेन्द्र समशेरको कारणले, नालायकीपनको कारणले, अहिले कही जिल्लामा न्यायाधीशहरुले चोलेन्द्र समशेरलाई देखाएर आफ्नो स्वार्थपूर्ति गर्न थालेको कुरा आज छाताहरुमा आइरहेको छ । चोलेन्द्र समशेरको भ्रष्टाचारीपनलाई साइडमा राखेर न्यायपालिका प्रति दुःशाहस राख्ने र कुचेष्टा राख्ने प्रयत्न यदी कसैबाट हुन्छ भने त्यसको नेपाल बार एशोसिएशन जोडदार बिरोध गर्दै यो आन्दोलनलाई अझै सशक्त बनाउने प्रण गर्दछ । हामी आन्दोलन निरन्तर रुपमा अघि बढाइरहेका छौँ । जबसम्म न्यायपालिकाको शुद्धिकरणको अभियानमा बाधककोरुपमा देखिनुभएका प्रधानन्यायाधीशले राजीनामा दिनुहुने छैन । त्यो दिनसम्म आन्दोलनको यो स्वरुपलाई हामीले निरन्तर अघि बढाउने छौँ । नेपाल बारले उठाएको न्यायको आन्दोलन आम न्यायप्रेमी जनताको आन्दोलन र आम सेवाग्राहीहरुको पक्षमा भएको यो आन्दोलनलाई अन्तिम निस्कर्षमा पु¥याएपछि मात्रै नेपाल बारले विश्राम लिनेछ । यो हाम्रो प्रतिवद्धता हो ।’

अध्यक्ष पौडेलले नेपाल बारले उठाएको यो आन्दोलन न्याय, आम न्यायप्रेमी जनता र आम सेवाग्राहीहरुको पक्षमा भएकोले यो आन्दोलनलाई अन्तिम निस्कर्षमा पु¥याएपछि मात्रै नेपाल बारले विश्राम लिने बताए । कोरोना महामारीको अवस्थालाई मध्यनजर गरी कानून व्यावसायीहरुले २५ जना मात्रै भेला भएर सो आन्दोलन जारी राखेका हुन् । 

प्रतिक्रिया दिनुहोस