'ओली नेतृत्वको सरकार सफल’

रासस

शुक्रबार, २३ पुस २०७८, १९ : ५०
'ओली नेतृत्वको सरकार सफल’

फाइल फोटो

काठमाडौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले केपी ओली नेतृत्वको सरकारले विकास र समृद्धिमा सफलता  हासिल गरेको दावी गरेका छन्  ।

आज मङ्गलबजारमा आयोजित एमाले ललितपुरको आठौँ अधिवेसनको उद्घाटनमा महासचिव पोखरेलले ओली नेतृत्वको साढे तीन वर्षे सरकारले देशभरमा सडक, पुलको निर्माणमा उल्लेखीय काम गरेको र रेल निर्माणका लागि महत्वपूर्ण सम्झौता गरेको तर्क गरे । 

पहिले पूर्व–पश्चिम एउटा मात्रै राजमार्ग रहेकामा ओली नेतृत्वको सरकारले चार राजमार्ग निर्माण अघि बढाएको उहाँले बताए । अरु पार्टीले पहिले रेलको कुरा गर्दा कागजको रेल बनाएर उडाए पनि ओली नेतृत्वको सरकारले रेल निर्माणसम्बन्धी महत्वपूर्ण काम गरेको उनको भनाइ छ । विगतमा भएका असमान सन्धीसम्झौताको पुनरावलोकनको काम सुरु हुनु र चुच्चे नक्सा प्रकाशन गर्नु उपलब्धी भएको उनको भनाइ छ । 

पार्टी पोलिटब्युरो सदस्य तथा ललितपुर जिल्ला इञ्चार्ज शुशिला नेपालले देशको समृद्धि र शान्तिका लागि एमाले सत्तामा पुग्नुपर्ने बताए । केन्द्रीय सदस्य बाबुराम थापाले एमाले पार्टी सधैँ सही एजेण्डा लिएर अघि बढेकाले आमनागरिकको समर्थन र माया पाइरहेको उल्लेख गरे । पार्टी केन्दीय सदस्य तथा जिल्ला अध्यक्ष हरीकृष्ण ब्यञ्जनकारले जिल्लामा नेतृत्व चयन गर्दा सबै मिल्नुपर्ने र मिलेर नै आमनिर्वाचनमा जानुपर्नेमा जोड दिए । 

ललितपुर क्षेत्र–१ बाट प्रतिनिधिसभा सांसद् नवराज सिल्वालले पार्टीले विगतबाट उठाएको एजेण्डा लिएर चुनाबमा जाने बताए । अधिवेसनले नयाँ जिल्ला कमिटिको चयन गर्नेछ । शनिबार बन्द सत्र सातदोबाटोमा हुने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस