पृथ्वी जयन्तीलाई ‘नेपाल दिवस’ का रूपमा मनाउन विवेकशील साझा पार्टीको माग

सफल खबर संवाददाता

मंगलबार, २० पुस २०७८, १३ : ०८
पृथ्वी जयन्तीलाई ‘नेपाल दिवस’ का रूपमा मनाउन विवेकशील साझा पार्टीको माग

काठमाडौं । विवेकशील साझा पार्टी नेपालले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई ‘नेपाल दिवसका रूपमा मनाउन सरकारसँग माग गरेको छ । संसारका अधिकांश देशमा विशिष्ट महत्त्वको निश्चित दिनमा राष्ट्रिय दिवस मनाइने तर नेपालका हकमा निश्चित राष्ट्रिय दिवस नभएको भन्दै सो पार्टीले यस्तो माग गरेको हो ।

पार्टीका प्रवक्ता शरदराज पाठकले जारी गरेको विज्ञप्तिमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस नै ‘नेपाल दिवस’ का लागि सबैभन्दा उपयुक्त दिन हुनसक्ने उल्लेख छ । ‘संसारका कुनै पनि एकीकरणकर्ता विवादरहित हुँदैनन् र छैनन् तर तिनै विवादलाई लिएर पृथ्वीनारायण शाहको अवमूल्यन गर्नु उपयुक्त हुँदैन,’ विज्ञप्तिमा भनिएको छ, ‘उनको दूरदर्शिता र दिव्य उपदेश शान्त, स्वाभिमानपूर्ण, सार्वभौमसत्ता सम्पन्न र समृद्ध नेपाल निर्माणका लागि आज पनि उत्तिकै सान्दर्भिक छ ।’

सो पार्टीले राष्ट्रिय एकता दिवसका दिन सार्वजनिक बिदा दिनसमेत माग गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘अनावश्यक रूपमा अनेकौँ बिदाहरू दिएर राष्ट्रिय एकता दिवसमा दिइने सार्वजनिक बिदा कटौती गर्नु अत्यन्तै खेदजनक विषय हो ।’

विवेकशील साझा पार्टीले नेपाली रुपैयाँमा पृथ्वीनारायण शाहको तस्बिर अङ्कित गर्न पनि माग गरेको छ । हरेक सरकारी कार्यालयमा ससम्मान पृथ्वीनारायण शाहको तस्बिर राख्न निर्देशन दिन पनि माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस