श्रीमती भोको छिन् ? सबैकुरा छोडेर खाना खुवाउनुहोस्, नत्र...

बुधबार, १९ बैशाख २०७५, १३ : १२
श्रीमती भोको छिन् ? सबैकुरा छोडेर खाना खुवाउनुहोस्, नत्र...

के तपाईंले कहिले याद गर्नुभएको छ, जब भोक लाग्छ तब तपाईंलाई निकै रिस उठ्छ । सानो कुरा पनि झर्को लाग्छ । भोक लाग्दा यदि कसैले केही प्रश्न सोधे प्रश्नकर्ताको टाउकोमा केही झटारो हानेर उत्तर दिऔं जस्तो लाग्छ । भोक लाग्दा रिस उठ्ने यो अवस्थालाई सोसल मिडियामा एउटा निकै रोचक नाम दिइएको छ – ह्याङ्ग्री (HANGRY) । यसलाई भोक अर्थात् हंगर (HUNGER) र रिस अर्थात् एंग्री (ANGRY) मिलाएर बनाइएको हो ।

ह्याङ्ग्री हुनुका कारणः
किंग्स कलेज लण्डनको न्यूट्रिशन एक्सपर्ट सोफी मेडलिनका अनुसार लामो समयसम्म मानिस भोको छ भने उसको रिस निकै माथि पुगेको हुन्छ । अब सोसल मिडियामा ह्याङ्ग्री शब्दको प्रयोग अत्यधिक हुन थालेपछि विज्ञानको यसमा रुची थप वृद्धि भएको उनी बताउँछिन् । सोफीका अनुसार जब हाम्रो शरिरमा चीनीको मात्रा कम हुन्छ तब कार्टिसोल र एड्रीनेलिनजस्ता हर्मोनको मात्रा बढ्ने गर्दछ । यी हर्मोनले हाम्रो दिमागमा निकै ठूलो असर पुर्याउँछ ।
हाम्रो शरिरमा न्यूरोनबाट निस्कने केमिकल न्यूरोपेप्टाइड्सले यी केमिकलको मात्रालाई हाम्रो दिमागमा नियन्त्रित गर्ने गर्दछ । जो केमिकलले हामीलाई भोकको महसुस गराउँछ त्यही केमिकलले हाम्रो रिस पनि बढाउँछ ।

सोफी मेडलिनका अनुसार यसै कारण हामीलाई भोक लाग्दा रिस पनि उठ्छ । हामी सबैले भोक लाग्दा आन्द्रा बटारिएको र रिस उठेको महसुस गरेका छौं । मिडियाले यस्तो स्थिती धेरैजसो महिलामा हुने बताउने गरेको छ । यद्यपी, यसमा कुनै पनि वास्तविकता छैन । वास्तवमा हाम्रो समाजमा महिलाको विषयमा जे सोच छ, त्यस कारणले यस्तो भनिएको हो ।

पछिल्लो महिना विन्टर ओलम्पिकको क्रममा अमेरिकी खेलाडी क्लोय किमले ट्वीट गरेर आफ्नो भोक बारे बताएकी थिइन् । उनले ट्वीटरमा लेखेकी थिइन्, ‘बिहान स्यान्डविच खाएर आएको भए हुन्थ्यो । जिद्दी गरेर खाइनँ अब ह्याङ्ग्री महसुस भइरहेको छ ।’

त्योभए के महिला यसको बढि शिकार हुन्छन् ? ‘पक्कै होइन,’ मेडलिन भन्छिन्, ‘यो जो सुकैलाई हुनसक्छ । न्यूरोसाइन्सको दृष्टिकोणले भन्नुपर्दा महिलालाई भन्दा पुरुषलाई भोक लाग्दा बढी रिस उठ्छ ।’ ‘वास्तवमा, पुरुषको दिमागमा न्यूरोपेप्टाइड्सका लागि धेरै रिसेप्टर हुन्छन्,’ उनी भन्छिन् । ‘ती केमिकल एस्ट्रोजेनको उतारचढावका कारण प्रभावित हुन्छन् । त्यसकारण कोही महिलालाई महिनावारी हुनलाग्दा बढी भोक लाग्ने गर्दछ ।’
तर जैविक पाटो हेर्ने हो भने, न्यूरोलोजी अनुसार महिलाको साटो पुरुष यसबाट बढि प्रभावित हुने मेडलिन बताउँछिन् ।  सोफी मेडलिन भन्छिन्, ‘अहिले पुरुषहरुले सायद मान्दैनन् होला, उनीहरुको खाना र भावना अन्तर्सम्बन्धित छ । ’ महिलालाई धेरै इमोशनल मानिन्छ । यसै कारण भोक लाग्दा रिस उठ्ने विषयलाई महिलासँग बढि जोडिन्छ ।

भोकले बिगार्न सक्छ आपसी सम्बन्धः
सन् २०१४ को एक अनुसन्धानका अनुसार रगतमा चीनीको मात्रा घट्दा विवाहित जोडीको तनाव बढ्ने गर्दछ र धेरैजसो उनीहरु हिंस्रक हुने गर्दछन् । विशेषगरी विवाहित महिला भोक लाग्दा निकै आक्रामक हुने गर्दछन् । उनीहरु ठूल्ठूलो स्वर भएको संगीत सुन्न रुचाउँछन् ।

धेरैजसो श्रीमान श्रीमतीको रिसको शिकार हुनुपर्छ । त्यसकरण यो अनुसन्धानबाट स्पष्ट हुन्छ कि यदि तपाईंकी श्रीमतीलाई भोक लागेको छ भने सबै काम छोडेर उनलाई शान्त गर्ने काममा लाग्नुहोस् ।

यो तपाईंको स्वास्थ्य र सुरक्षाका लागि निकै उपयोगी सल्लाह हो । अब प्रश्य यो उठ्छ कि तपाईं भोकको स्थितीबाट कसरी बच्न सक्नुहुन्छ ? सोफी मेडलिनका अनुसार तपाईं कतिबेर पनि अर्को खाना खानुहुन्छ, त्यसमा निर्भर हुन्छ । त्यसअघि तपाईं केही छिटो खानमिल्ने खानेकुराको प्रबन्ध मिलाउनुहोस् । विशेषगरी कार्बोहाइड्रेट । यसले तपाईंको शरिरलाई चाहिने चीनीको आवश्यकतालाई तत्काल पूरा गरेर तपाईंको रिसको ज्वालामुखी फुट्नबाट जोगाउँछ । -बीबीसी /सारा किटिंग

प्रतिक्रिया दिनुहोस