अनुसन्धान प्रमुखमा खरेल ल्याउने तयारी

पत्रपत्रिकाबाट

सोमबार, १९ पुस २०७८, ०७ : ४९
अनुसन्धान प्रमुखमा खरेल ल्याउने तयारी

काठमाडौं । मुलुकको प्रमुख गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीको यही २३ गते अवकाश हुने भएपछि सरकारले प्रमुख नियुक्तिको तयारी गरेको छ। तीन वर्षे कार्यकाल सकिएपछि अधिकारी अनिवार्य अवकाशमा जान लागेका हुन्।

आन्तरिक तथा बाह्य गुप्तचरी निकायको प्रमुख बन्न अतिरिक्त मुख्य अनुसन्धान निर्देशकको रूपमा कार्यरत यदुलाल खरेल र यादवप्रसाद रेग्मीको जोडबल रहेको छ। तर सरकारले खरेललाई नियुक्तिको तयारी गरेको छ। खरेलको समय थोरै भएपछि सरकारले अधिकारीलाई नै निरन्तरता दिने खोजेको तर अधिकारीले अस्वीकार गरेपछि भने खरेलका लागि बाटो खुलेको हो। खरेल भएमा उनी सात महिना मात्रै सो पदमा बहाल रहनेछन्। हालका प्रमुख अधिकारीको २३ पुसमा सकिँदैछ।

एमालेको तर्फबाट प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले २३ पुस २०७५ अधिकारीलाई मुख्य अनुसन्धान निर्देशकमा नियुक्त गरेका थिए। त्यसअघि प्रधानमन्त्री ओलीले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्याल मातहतमा लगिएको थियो। हाल सो विभाग प्रधानमन्त्री कार्यालय मातहत रहेको छ।  

अधिकारी विभागको प्रमुखमा नियुक्त हुनुअघि तत्कालिन अवस्थामा बहाल रहेका दिलिप रेग्मीलाई बर्खास्त गरेर अधिकारीलाई नियुक्त गरेका थिए। हाल शेरबहादुर देउवा नेतृत्वको सरकारले उनलाई पूरा कार्यकाल राखेर पनि समय अवधि थप्न लागेको थियो। तर उनी आफैं अवकाशमा जाने इच्छा व्यक्त गरेपछि खरेललाई नियुक्ति गर्न लागेको हो।

पुस २३ अघि नै सरकारले खरेल र रेग्मी मध्ये एकजनालाई नियुक्ति गर्नुपर्ने हुन्छ। अधिकारीको कार्यकाल सकिन लागेपछि प्रधानमन्त्री कार्यालय मातहत रहेको गुप्तचरको ‘नयाँ प्रमुख अर्थात् मुख्य अनुसन्धान निर्देशक नियुक्तिको लागि गृहकार्य भएको भएपनि कसलाई नियुक्ति गर्ने भन्ने बारेका केही टुंगिएको छैन, सिनियरलाई नै नियुक्ति गर्ने अवस्था छ,’ प्रधानमन्त्री कार्यालयका एक सचिवले भने। नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस