सेनाको १५ करोडको ठेक्कामा कीर्ते, यसरी भयो पर्दाफास...

सफल खबर संवाददाता

आइतबार, १८ पुस २०७८, ०८ : २८
सेनाको १५ करोडको ठेक्कामा कीर्ते, यसरी भयो पर्दाफास...

काठमाडौं । नेपाली सेनाको सामान सप्लाई गर्ने ठेक्का पाएको एक कम्पनीको कीर्ते काम छताछुल्ल भएको छ । चीनबाट आयात गरिएको सामान तातोपानी भन्सारले समातेपछि उसको कीर्ते काम बाहिर आएको हो । 

ठेकेदार कम्पनी जयसलिना, एडी सप्लायर्स जेभी र कोहिनुर टेक्सटाइलले कीर्ते गरि  नेपाली सेनालाई झुक्याउ सामान ल्याउँदै थियो । उसले नेपालमै चुस्ता (क्यामोफ्ल्याग) उत्पादन गर्ने भनेर ठेक्का लिएको थियो । तर, नेपालमै उत्पादन गर्ने भनेर ठेक्का लिएका जयसलिना र एडी सप्लायर्सले सुटुक्क चीनबाट चुस्ता आयात गरेपछि उनीहरुको कीर्ते कार्यको खुलासा भएको हो ।

अशोक टिबटेवालको कोहिनुर टेक्सटाइलबाट उत्पादन गर्ने भनेर सेनाबाट ठेक्का लिने, तर चीनमा सामान उत्पादन गरी ल्याउने कीर्ते काम ठेकेदार बस्नेत र भट्टले गरेका छन् । जयसलिना र एडी सप्लायर्सका संचालक बस्नेत र भट्टले नेपालमा उत्पादन गरिएको सामान भनी चीनमा उत्पादित सामान ल्याउने र त्यसमा पनि मूल्य अभिबृद्धि कर समेत छल्ने नियत राखेको बताइएको छ । यसबारे अब सेनाले छानबिन गर्ने भएको छ ।

चीनबाट आयात गरिएको २९ हजार मिटर चुस्ता गत सोमबार तातोपानी भन्सारले रोकेको थियो । त्यसपछि छानबिनका क्रममा सेनाका लागि ल्याएको खुलेको हो । जयसलिना र एडी सप्लायर्सले उक्त चुस्ता नेपालकै बीरगंजमा रहेको कोहिनुर टेक्सटाइल उद्योगमा उत्पादन गर्ने भनेर १० प्रतिशत महंगो दरमा ठेक्का पाएका थिए । 

यसरी पाएको थियो ठेक्का...
सेनाले वीरगन्जमा गर्ने भनिएको कोहिनुरको उत्पादनस्थलमै उपरथीको नेतृत्वमा ११ जनाको टोली पठाई उद्योग भिजिट गराएको थियो । स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नका लागि सार्वजनिक खरिद ऐनमै १० प्रतिशत सहुलियत दिने ब्यवस्था गरिएको छ । तर त्यसको दुरुपयोग जयसलिना र एडी सप्लायर्सले गरेका छन् ।

चुस्ता उत्पादन गर्ने कोहिनुरको सहमति र टेक्सटाइलको उद्योग भिजिटपछि सेनाका उपरथी नेतृत्वको टोलीले नेपालमै उत्पादन हुने राय दिएपछि जयसलिना र एडी सप्लायर्र्सलाई ठेक्का दिएको थियो । करिब १५ करोड बराबरको उक्त ठेक्का पाएपछि जयसलिना र एडीले नेपालमा उत्पादन नगरी चीनमा उत्पादन  गर्न दियो । 

सेनाको चुस्ता भनेर जयसलिनाका संचालक ज्ञानेन्द्र बस्नेत र एडीका संचालक झम्कनाथ भट्टले छुटाउन पनि खोजे । तर तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक नारद गौतमले सेनाको पत्र पेश नगरेसम्म चुस्ता नछाड्ने अडान लिएपछि उनीहरुको डिजाइन असफल भएको हो । उक्त चुस्ताको क्यारिङ सतिदेवी इन्टरप्राइजेज गोंगबुका संचालक इश्वर न्यौपानेले गरेको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।

अशोक टिबटेवालको कोहिनुर टेक्सटाइलबाट उत्पादन गर्ने भनेर सेनाबाट ठेक्का लिने, तर चीनमा सामान उत्पादन गरी ल्याउने कीर्ते काम ठेकेदार बस्नेत र भट्टले गरेका छन् । जयसलिना र एडी सप्लायर्सका संचालक बस्नेत र भट्टले नेपालमा उत्पादन गरिएको सामान भनी चीनमा उत्पादित सामान ल्याउने र त्यसमा पनि मूल्य अभिबृद्धि कर समेत छल्ने नियत राखेको बताइएको छ । यसबारे अब सेनाले छानबिन गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस