मेयर कप राष्ट्रिय तेक्वान्दोमा ११ टोली

सफल खबर संवाददाता

बुधबार, १४ पुस २०७८, १८ : ०८
मेयर कप राष्ट्रिय तेक्वान्दोमा ११ टोली

काठमाडौं । बागमती प्रदेश तेक्वान्दो संघको आयोजनामा प्रथम राष्ट्रिय मेयर कप तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।

प्रतियोगितामा आयोजकसहित सातै प्रदेश, एपीएफ, नेपाल प्रहरी र नेपाली सेनाका गरी ११ टोलीको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजकका अध्यक्ष केशव पुरीले जानकारी गराए ।

प्रतियोगितामा ग्योरोगीतर्फ १६ तथा पुम्से तर्फ ८ स्पर्धा समावेश छन् । ग्योरोगीतर्फ उत्कृष्ट हुने पुरुष तथा महिला खेलाडीलाई जनही ५ हजार रुपैयाँबाट पुरस्कृत गरिने छ ।  प्रतियोगितामा ३ सय ३० खेलाडी सहभागी हुने छन् ।

प्रतियोगिता सञ्चालन गर्न करिब ३२ लाख १ हजार २ सय रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । प्रदेश टोलीको यातायात, खाना र बसोबास खर्च आयोजकले बेहोर्ने अध्यक्ष पुरीले बताए ।

प्रतियोगिताको मुख्य प्रायोजक काठमाडौं महानगरपालिका रहेको छ । अन्य प्रायोजकमा ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका र नागार्जुन नगरपालिका छन् ।दुई दिने प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा खेलाइने छ ।

प्रतिक्रिया दिनुहोस