रगतको आयु एक सय बीस दिन : चिकित्सक

मंगलबार, १८ बैशाख २०७५, १७ : ४०
रगतको आयु एक सय बीस दिन : चिकित्सक

सर्वोत्कृष्ट रक्तदाता शिल्ड अरोमा कलेज भरतपुरलाई हस्तान्तरण गरिँदै । तस्बिर : सूर्यप्रकाश कँडेल

चितवन । मानिसको शरीरमा बग्ने रगतको आयु एक सय बीस दिनमात्र हुने भएकोले हरेक तीन महिनामा रक्तदान गर्ने व्यक्ति सधैं स्वस्थ्य रहने चिकित्सकहरुको भनाइ छ । नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले आज मंगलबार भरतपुरमा आयोजना गरेको कार्यक्रममा बोल्ने चिकित्सकहरुले यस्तो बताएका हुन् ।
रक्तदान उत्प्रेरणा, कार्यतालिका निर्माण, सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै फिजिसियन डा. भोजराज अधिकारीले एक सय बीस दिनमा शरीरको रगत पुरै नयाँ हुने बताउनु भयो । ‘रगतको आयु नै त्यत्ति हो’ उहाँले भन्नुभयो, ‘शरीर स्वस्थ्य रहन चलायमान हुनुपर्छ । रक्तदान गर्दा रक्तकोषहरु चलायमान हुन्छन् । रक्तदान गर्दा कुनै हानि हुँदैन ।’
भरतपुर अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट बालरोग विशेषज्ञ डा. युवानिधि बस्यौलाले रगतको अभावम कुनै पनि शल्यक्रिया गर्न नसकिने जानकारी दिँदै रक्तदानले बिरामीको ज्यान बचाउने काम गरिरहेको बताउनु भयो । भेरी अञ्चल अस्पताल नेपालगञ्जका फिजिसियन डा. राजन पाण्डेले १८ वर्ष पूरा भएको स्वस्थ्य मानिसले रक्तदान गर्दा कुनै समस्या नपर्ने बताउनु भयो ।

मिर्गौला रोग विशेषज्ञ प्रा.डा. माधव घिमिरेले चितवनमा दिनहुँ बिरामीको चाप बढिरहेकोले रगतको माग पनि बढिरहेको बताउनु भयो । माग बढेसँगै रगतको अभाव हुने भएकोले यो अभाव पूर्तीका लागि रक्तदान आवश्यक रहेको उहाँको भनाइ थियो । अग्रज रक्तदाता उमेश मैनालीले अमेरिकामा स्वस्थ्य व्यक्तिले दुई महिनामा एकपटक रक्तदान गर्ने गरेको जानकारी दिनुभयो । आफूले अहिलेसम्म एक सय ३२ पटक रक्तदान गरिसकेको बताउँदै उहाँले स्वस्थ्य व्यक्तिले तीन महिनामा एकपटक रक्तदान गर्न आग्रह गर्नुभयो ।
नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका सभापति ज्ञानशाली न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल रेडक्रसका केन्द्रीय उपमहामन्त्री हरिप्रसाद न्यौपाने, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडी, नेपाल अण्डा उत्पादक संघका अध्यक्ष त्रिलोचन कँडेल लगायतले रक्तदानको महत्वबारे बोलेका थिए ।

 

प्रतिक्रिया दिनुहोस