बाघ सर्वेक्षणमा प्रयोग भएका क्यामेरा चोरी

रासस

बुधबार, ०७ पुस २०७८, १९ : ५३
बाघ सर्वेक्षणमा प्रयोग भएका क्यामेरा चोरी

नवलपुर । राष्ट्रिय बाघ सर्वेक्षणमा प्रयोग भएका स्वचालित ट्र्याकिङ क्यामेरा चोरी भएका छन् । चितवन पर्सा कम्प्लेक्सअन्तर्गत क्लस्टर नम्बर १ मा बाघ सर्वेक्षणका लागि राखिएको पाँच वटा क्यामेरा चोरी भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । 

निकुञ्जमा गत मङ्सिर १९ गतेदेखि सुरु भएको राष्ट्रिय बाघ सर्वेक्षण २०७८ का लागि विभिन्न स्थानमा राखिएका पाँच वटा क्यामेरा चोरी भएका हुन् । बाघ सर्वेक्षणका लागि राखिएको क्यामेरामध्ये नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०मा चार तथा चितवनमा एउटा क्यामेरा चोरी भएको निकुञ्जले जनाएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले नवलपरासीको कावासोतीमा चार वटा क्यामेरा तथा चितवनको कालिका नगरपालिका क्षेत्रबाट एउटा क्यामेरा हराएको जानकारी दिए । 

बाघ गणनाका लागि चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जको पश्चिम क्षेत्रमा स्वचालित ट्र्यापिङ क्यामेरा राखेको छ । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जलाई तीन वटा क्लस्टरमा विभाजन गरेर पहिलो क्लस्टरमा पर्ने निकुञ्जको मुख्यालय कसरादेखि पश्चिमतर्फ नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को त्रिवेणीसम्मको क्षेत्रमा बाघ सर्वेक्षणको काम भइरहेको छ । आचार्यले बाघ सर्वेक्षणका लागि निकुञ्ज, मध्यवर्ती, सामुदायिक वन र राष्ट्रिय वनलाई ग्रिड बनाएर क्यामेरा राखिएको जानकारी दिए। 

निकुञ्जले हरेक चार वर्ग किलोमिटर क्षेत्रफलमा बाघ गणनाका लागि एक जोडा स्वचालित क्यामेरा राखेको आचार्यले बताए । बाघ सर्वेक्षणका लागि प्रयोग भएको स्वचालित ट्र्यापिङ क्यामेरा अन्य प्रयोजनका लागि काममा नआउने बताए । क्यामेरा जडान गरिएको तेस्रो दिनमा क्यामेरा हराएको भन्दै क्यामेराको सुरक्षा गर्नु सबैको दायित्व भएको आचार्यले बताए ।  बाघ सर्वेक्षणका लागि निकुञ्जले जमिनबाट ४५ सेन्टिमिटरदेखि ६० सेन्टिमिटरको उचाइमा क्यामेरा राखेको छ । बाघ सर्वेक्षणका लागि राखिएको स्थानमा एउटै बाघलाई दुई वटा क्यामेराले खिच्ने गरी बाटोबाट दुवैतर्फ राखिएको छ । बाघको ढाडमा हुने पाटाको आधारमा बाघको गणना गरिने प्रमुख संरक्षण अधिकृत आचार्यले बताए। 

चितवन–पर्सा कम्प्लेक्समा बाघ सर्वेक्षणका लागि करिब तीन महिना समय लाग्ने उल्लेख गर्दै प्रमुख संरक्षण अधिकृत आचार्यले अहिले १३ स्थानमा क्याम्प राखेर बाघ सर्वेक्षणको काम भइरहेको जानकारी दिए । एउटा क्याम्पसमा गणक र प्राविधिकसहित आठ जनाको टोली परिचालन गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो बाघ सर्वेक्षणको नजितानुसार ९३ वटा बाघ छन् । नेपालले सन् २०१० मा रुसको सेन्ट पिटसबर्गमा भएको बाघ पाइने देशहरुको अन्तर्राष्ट्रिय सम्मेलनमा बाघको सङ्ख्या २५० पु¥याउने प्रतिबद्धता जनाएको थियो । सन् २०१८ मा भएको बाघ सर्वेक्षणअनुसार नेपालमा बाघको सङ्ख्या २३५ वटा पुगिसकेको छ । 

प्रतिक्रिया दिनुहोस