ज्ञानेन्द्र मल्लले भने– क्यानले पुनर्विचार गरोस्

सफल खबर संवाददाता

शुक्रबार, ०२ पुस २०७८, १८ : ५१
ज्ञानेन्द्र मल्लले भने– क्यानले पुनर्विचार गरोस्

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान( बाट कारबाहीमा परेका राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लले संघको निर्णयमा पुनर्विचार गर्न अनुरोध गरेका छन् । आफ्नो हकअधिकारका लागि आवाज उठाएकै आधारमा कारबाही हुने हो भने ब्याट र बल छोड्नुपर्ने अवस्था आउन सक्ने उनले चेतावनी दिए ।

आज आयोजित पत्रकार सम्मेलनमा मल्लले प्रश्न गरे, ‘हामीले आजसम्म गरेका समर्पणको सम्मान यही हो ?’ संवादमा गएर क्यानले समस्याको निकास निकाल्नुपर्ने मल्लले बताए । ‘हाम्रो फोकस भनेको उहाँहरूले संवादमा बोलाउनुपर्छ भन्ने नै हो,’ उनले भने । यदि क्यानले संवादमा बोलाएर खेल्ने वातावरण बताइयो भने राष्ट्रिय टिमबाट खेल्ने मल्लले बताए । ‘हामी संवादबाटै अगाडि जानुपर्ने पक्षमा छौं । कारवाही फिर्ता हुने नहुने उहाँहरुले बोर्डमा निर्णय लिनुहोला,’ मल्लले भने ।

विज्ञप्तिमा भनेका छन्  ‘हामी अहिले पनि चाहन्छौं, नेपाली क्रिकेटमा देखिएका सबै समस्या हल गरौं, खेलका लागि राम्रो वातावरण बनोस् । यसका लागि नेपाल क्रिकेट संघले अभिभावकीय भूमिका खेल्दै यो निर्णयलाई पुनर्विचार गरोस् । हामी र हामी जस्ता क्रिकेट खेलमा भविष्य खोजिरहेका खेलाडीहरूले ब्याट र बल छाड्नुपर्ने दुर्भाग्यपूर्ण अवस्था नबनोस् ।’  पत्रकार सम्मेलनमा ज्ञानेन्द्रसहित कारबाहीमा परेका दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरी उपस्थित थिए । उनीहरुले आफूहरूको साझा धारणा भएको बताए ।
 

प्रतिक्रिया दिनुहोस