ओमिक्रोन र डेल्टा भेरियन्टको मारमा बेलायत, एकैदिन झण्डै ७९ हजार संक्रमित थपिए

एजेन्सी

विहीबार, ०१ पुस २०७८, ११ : ४४
ओमिक्रोन र डेल्टा भेरियन्टको मारमा बेलायत, एकैदिन झण्डै ७९ हजार संक्रमित थपिए

काठमाडौं । बेलायतमा पछिल्लो समय कोरोना संक्रमितको संख्या निरन्तर बढिरहेको छ । त्यहाँ दैनिक संक्रमितको संख्या महामारी सुरु भएयताकै उच्च बिन्दुमा पुगेको छ ।बुधबार बेलायतमा ७८ हजार ६१० जना नयाँ संक्रमित थपिएका छन् । जुन महामारी सुरु भएयताकै धेरै हो । हालसम्म त्यहाँ कुल १ करोड १० लाखभन्दा मानिसमा कोरोना भाइरस पुष्टि भएको छ ।

बेलायतभर नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित समेत बढ्न थालेका छन् । निकै संक्रामक मानिएको ओमिक्रोनका संक्रमित बढ्न थालेपछि प्रधानमन्त्री बोरिस जोनसनले संक्रमणको व्यापक लहर सुरु हुने चेतावनी दिइसकेका छन् ।

कोभिड संक्रमितको दैनिक संख्या हालसम्मकै उच्च बिन्दुमा पुगेपछि बेलायती अधिकारीले सामाजिक जमघट गर्दा सतर्क हुन पनि भनेका छन् । जोनसन र इङल्याण्डका प्रमुख मेडिकल अधिकृत प्राध्यापक क्रिस विट्टीले मानिसहरूलाई अनावश्यक रुपमा भेला नहुन अपिल गरेका छन् ।

बुधबार पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री जोनसनले रेष्टुरेन्ट र रक्सी पसल बन्द नगर्ने तर रेष्टुरेन्ट वा रक्सी पसलमा जाँदा सावधान हुन भने । नयाँ भेरियन्टका संक्रमित बढिरहेका कारण दैनिक संक्रमितको संख्याले दिनदिनै नयाँ रेकर्ड बनाउन सक्ने समेत उनको चेतावनी थियो ।

त्यस्तै, प्राध्यापक विट्टीले तीव्र रुपमा फैलिइरहेको ओमिक्रोन र डेल्टा भेरियन्टका कारण मुलुकले एकैपटक २ वटा प्रकोप सामना गरेको बताए । ओमिक्रोन भेरियन्ट निकै तीव्र गतिले फैलिइरहेको र चाँडै नै संक्रमितको संख्या अत्यधिक हुने उनको भनाइ थियो । बेलायतमा हालसम्म ओमिक्रोनबाट १० हजारभन्‍दा संक्रमित भइसकेका छन् । यसमध्ये एकजना संक्रमितको मृत्यु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस