राखेप सदस्य सचिवबाट सिलवाललाई बर्खास्त नगर्न सर्वाेच्चकाे अन्तरिम आदेश

सफल खबर संवाददाता

बुधबार, २९ मंसिर २०७८, १६ : ४५
राखेप सदस्य सचिवबाट सिलवाललाई बर्खास्त नगर्न सर्वाेच्चकाे अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवाललाई बर्खास्त गर्ने निर्णय  कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएकाे छ । 

एमाले नेतृत्वकाे सरकारले खुला प्रतिस्पर्धाबाट सदस्यसचिवमा नियुक्त गरेका सिलवाललाई वर्तमान सरकारले बर्खास्त गर्दै उनको ठाउँमा टंकलाल घिसिङलाई नियुक्त गरेको थियो । साे निर्णयविरुद्ध सिलवाल सर्वाेच्च गएका थिए । आफ्नो बर्खास्तगीविरुद्ध सर्वोच्च अदालतमा सिलवालले दायर गरेको रिटमाथि बुधबार सुनुवाइ गर्दै न्यायाधीश हरि फुयाँलको एकल इजलासले सिलवाललाई बर्खास्त गरेर घिसिङलाई नियुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

सर्वाेच्चले पुरानै अवस्थामा सदस्यसचिवका रूपमा काम गर्न तथा नयाँ नियुक्त सदस्यसचिव घिसिङलाई कामकाज नगर्न अन्तरिम आदेश जारी गरेको छ । यसअघि १३ मंसिरमा घिसिङलाई मन्त्रिपरिषद्को निर्णयले सदस्य सचिवमा नियुक्त गरिएकाे थियो । १४ मंसिरमा घिसिङले पद तथा गोपनियताको सपथ लिएका थिए ।

प्रतिक्रिया दिनुहोस