कांग्रेस महाधिवेशन : १३ पदाधिकारीसहित १ सय ३२ नेता चुन्न आज मतदान

सफल खबर संवाददाता

सोमबार, २७ मंसिर २०७८, ०७ : ४५
कांग्रेस महाधिवेशन : १३ पदाधिकारीसहित १ सय ३२ नेता चुन्न आज मतदान

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत १३ जना पदाधिकारीसहित १ सय ३२ जना नेता निर्वाचनबाट चुन्न आज मतदान हुँदै छ । प्रदेश २ बाट चयन हुने दुई केन्द्रीय सदस्य भने आइतबार नै निर्विरोध निर्वाचित भइसकेका छन् । कांग्रेस विधानअनुसार १ सय ३४ जना निर्वाचनमार्फत चयन हुने व्यवस्था छ ।

कांग्रेसको २४ मंसिरबाट काठमाडौंमा सुरु महाधिवेशनमा अब ४ सय ८९ जना उम्मेदवार नेतृत्व लिन अघि बढेका छन् । यीमध्ये अब १ सय ३२ जना जारी महाधिवेशनबाट केन्द्रीय कार्यसमितिका लागि मतदान प्रक्रियामार्फत चुनिँदै छन् । प्रदेश २ तर्फबाट रमेश रिजाल र आनन्द ढुंगाना भने निर्विरोध निर्वाचित बनेका हुन् ।

कांग्रेस विधानमा एक सभापति, दुई उपसभापति, दुई जना महामन्त्री, आठ सहमहामन्त्री गरी १३ जना पदाधिकारी निर्वाचनमार्फत चयन हुने व्यवस्था छ । यसैगरी, सदस्यहरूमा खुलातर्फ ३५ समेत गरी १ सय २१ जना विभिन्न प्रदेश तथा समावेशी समूहबाट गरी निर्वाचित हुनेछन् । यसरी कुल १ सय ३४ जनाको कार्यसमिति निर्वाचनमार्फत चयन हुने विधानको व्यवस्था छ ।

४७ सय ४३ मतदाता
निर्वाचनको प्रक्रियामा देशका १ सय ६५ निर्वाचन क्षेत्र र भ्रातृ तथा शुभेच्छुक संघसंस्था तथा विदेशस्थित जनसम्पर्क समितिबाट गरी ४७ सय ४३ जना महाधिवेशन प्रतिनिधि सहभागी हुँदै छन् । उनीहरूले नै नयाँ नेतृत्व चुन्न मतदान गर्नेछन् ।

निर्वाचन समितिले प्रकाशित प्रकाशित गरेको अन्तिम नामावलीअनुसार केन्द्रीय समितिका पदाधिकारी र सदस्य मात्रै १ सय ३ जना प्रतिनिधि छन् । यसैगरी, प्रदेश १ बाट ७ सय ३६ जना, प्रदेश २ बाट ८ सय ७ जना, बाग्मती प्रदेशबाट ८ सय ७९ जना, गण्डकीबाट ४ सय ७६ जना, लुम्बिनी प्रदशेबाट ६ सय ८२ जना, कर्णालीबाट ३ सय १५ जना र सदूरपश्चिम प्रदेशबाट ४ सय १७ जना महाधिवेशन प्रतिनिधि बनेका छन् । उनीहरू सबै मतदाता हुन्छन् ।

प्रतिक्रिया दिनुहोस