काँग्रेस महामन्त्रीका यी उम्मेदवार सधैंका प्रतिस्पर्धी

सफल खबर संवाददाता

आइतबार, २६ मंसिर २०७८, ०८ : ०४
काँग्रेस महामन्त्रीका यी उम्मेदवार सधैंका प्रतिस्पर्धी

काठमाडौं । कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतभन्दा रक्षामन्त्री मीनेन्द्र रिजाल दुई वर्ष जेठा छन्। नुवाकोटका महत र धरानका रिजाल लामो समय एउटै गुट मात्र होइन, पार्टी र राज्यका विभिन्न निकायमा बसेर काम गरेका छन्। २०३६ सालमा रिजाल नेपाल विद्यार्थी संघ (नेविसंघ) को उपाध्यक्ष बने भने महत केन्द्रीय सदस्य। महत २०४४ सालमा नेविसंघको महामन्त्री बने भने २०७५ मा पार्टीका सहमहामन्त्री ।

विद्यार्थी राजनीतिदेखि पार्टीको यी दुईबीचको प्रतिस्पर्धा १४औं महाधिवेशनसम्म हुने भएको छ। रिजाल र महत दुवै नेता पार्टी महामन्त्रीमा उम्मेदवारी दिएका छन्।पार्टीको १२औं महाधिवेशनपछि ‘को सिनियर रु’ भन्ने हानथापले महिनांैसम्म निर्णय पुस्तिकामा यी दुई नेताले हस्ताक्षर नगरेको घटनासमेत रहेको छ।

उक्त विवाद लामो समय चलेपछि कांग्रेसले पार्टीभित्र बेलाबेलामा देखिने वरीयताक्रमको छिनोफानो गर्न समिति नै बनाएको थियो। राष्ट्रिय योजना आयोगको सदस्यदेखि प्रधानमन्त्रीको सल्लाहकार हुँदै पार्टी र सरकारको जिम्मेवारीमा कहिले सँगै त कहिले आलोपालोमा पुग्दै आएका उनीहरू अहिले महामन्त्रीको प्रतिस्पर्धामा छन्।

त्यस्तै, केन्द्रीय सदस्य गगनकुमार थापा र प्रदीप पौडेल पनि समकालीन हुन्। उमेरले थापाभन्दा पौडेल केही जेठा छन्। तर, स्कुल एकाइदेखि सुरु भएको उनीहरूको प्रतिस्पर्धा पार्टीको १४औं महाधिवेशनमा महामन्त्रीमा पनि हुने देखिएको छ। पौडेलभन्दा पहिला थापा सांसद, केन्द्रीय सदस्य, मन्त्री र महामन्त्रीको उम्मेदवार भइसकेका छन्। तर, नेविसंघको राजनीतिमा थापालाई पछि पार्दै पौडेल अध्यक्षको जिम्मेवारीमा पुग्न सफल भए।

चितवनमा भएको संघको महाधिवेशनमा अध्यक्षको प्रत्यासी बन्ने तयारीमा रहेका थापासँग पौडेल प्रतिस्पर्धाको पक्षमा उभिए। त्यसपछि थापाले अध्यक्षको प्रतिस्पर्धाबाट पछि हट्दै पौडेललाई समर्थन गरेका थिए।१३औं महाधिवेशमा थापा र पौडेल दुवै सिटौला समूहमा थिए। अहिले थापा उक्त समूहबाट अलग भएर शेखर कोइरालाको समूहबाट महामन्त्रीको उम्मेदवार बनेका छन्। पौडेलसहित सिटौला समूह शेरबहादुर देउवासँग चुनावी तालमेल गर्दै अघि बढेको छ। पौडेल देउवाको महामन्त्रीको उम्मेदवार बनेका छन्।  

थापा र पौडेल मात्र होइनन्, नेविसंघमा एउटै स्कुलिङबाट अघि बढेका विश्वप्रकाश शर्माले पनि महामन्त्रीमै उम्मेदवारी दिएका छन्। पार्टी प्रवक्ताका रूपमा शेरबहादुर देउवालाई नजिकबाट सहयोग गरेका शर्मा महामन्त्रीमा भने पूर्वमहामन्त्री प्रकाशमान सिंहको समूहमा जोडिन पुगेका छन्। शर्माभन्दा पौडेल झन्डै सात वर्षपछि २०६४ सालमा संघको नेतृत्वमा पुगेका हुन् भने थापा संघको अध्यक्ष नै बन्न सकेनन्।