राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उत्कृष्ट काम गरेको छ: अर्थमन्त्री शर्मा

सफल खबर संवाददाता

बुधबार, २२ मंसिर २०७८, १३ : २३
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उत्कृष्ट काम गरेको छ: अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले भुकम्पपछिको पुनर्निर्माणमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उत्कृष्ट काम गरेको बताएका छन् । भुकम्पपछिको पुर्ननिर्माणको अनुभव तथा प्रगति अन्तर्राष्ट्रिय समुदायमा पुर्याउन राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले आयोजना गरेको पुनर्निर्माण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै अर्थमन्त्री शर्माले प्राधिकरणले उत्कृष्ट काम गरेको बताएका हुन् ।

भुकम्पपछिको पुनर्निर्माणमा सहयोग गर्ने सबै दातृ निकायहरुलाई अर्थमन्त्री शर्माले धन्यवाद दिए । नेपाल सरकारकै आफ्नो स्रोत र दातृ निकाय सहयोगका कारणले नै पुनर्निर्माणको कार्यले मुर्तरुप लिएको उनको भनाइ छ ।

‘पुनर्निर्माण प्राधिकरणको कार्यकाल सकिँदै गर्दा आयोजना गरेको यस अन्तर्राष्ट्रिय सम्मेलन मार्फत पुनर्निर्माण अभियानमा सहयोग गर्नुहुने सबैमित्र राष्ट्रहरु तथा विकास साझेदार निकायहरु लगायत अन्तर्राष्ट्रिय संघ संस्था, पुनर्निर्माणमा प्रत्यक्ष प्रत्यक्ष रुपमा सहयोग गर्नेहरुलाई म धन्यावाद व्यक्त गर्न चाहान्छु’ शर्माले भने ।

सो क्रममा उनले पुर्ननिर्माण प्राधिकरणका सिईओ, कर्मचारी, भुकम्पका क्रममा दुर्गमस्थानमा गएर सहयोग गर्ने सबै इन्जिनियर तथा प्राविधिकलाई पनि धन्यवाद दिए ।२०७२ सालमा गएको भुकम्पका कारण क्षतिग्रस्त भएका भौतिक संरचना, नीजि आवास तथा सार्वजनिक संरचना, पुरातात्विक,सांस्कृतिक तथा एतिहासिक सम्पदाहरु पुनर्निर्माणको महत्वपूर्ण चरण पार भइसकेको उनले बताए ।

भुकम्पले क्षतिग्रस्त बनाएका विद्यालय, स्वास्थ्य संस्था, सरकारी तथा सार्वजनिक भवन , ऐतिहासिक सम्पदाहरुको पुर्ननिर्माणले नेपालको नयाँ पुस्ताले पुराना संरचना नयाँ स्वरुपमा देख्न पाउने अवसर प्राप्त भएको भन्दै उनले खुसी व्यक्त गरे ।

भुकम्पका कारण क्षतिग्रस्त भएका संरचनाको पुनर्निर्माणको काम ९० प्रतिशत सम्पन्न भएको बताउँदा पाउँदा खुसी लागेको अर्थमन्त्री शर्माको भनाई थियो । उनले भने,‘पुनर्निर्माणको वृहत कार्यसम्पादनबाट क्षतिग्रस्त संरचनाको निर्माण मात्रै नभई विपद्को समयमा निर्णय लिने क्षमता, प्रविधि र कार्य सम्पादन गर्ने क्षमता समेत विकास भएको छ ।’

राजनीतिक दलहरुको संकल्प, सरकारको जिम्मेवारी र पुनर्निर्माणमा खटिएका जनशक्तिको लगनशिलताका कारण नै पुनर्निर्माणको यतिठुलो जिम्मेवारी संभव भएको भन्दै प्रशंसा समेत गरे ।

विश्वव्यापीरुपमा भएको वातावरण परिवर्तनका कारण नेपालले भोग्दै आएको विभिन्न प्राकृतिक विपत तथा जोखिमकोरुपमा २०७२ सालमा गएको भुकम्प पनि एक भएको भन्दै उनले यस्तो प्रतिकुल परिस्थितिमा पनि भुकम्पपछिको पुनर्निर्माण सन्तोषको विषय मात्रै नभएर राजनीतिक दल र सबै राजनीतिक दलको एकता, सबै दातृ निकाय तथा संघ संस्था र मित्र राष्ट्रहरुको सहयोग अत्यन्तै महत्वपूर्ण हुने कुरा पुष्टि भएको बताए ।

पुनर्निर्माणका बाँकी कामहरुलाई यसै आर्थिक वर्षभित्र सम्पन्न गर्ने गरी शहरी विकास मन्त्रालयलाई र विपत व्यवस्थापन सम्वन्धी कामहरु अगाडि बढाउने गरी विपद व्यवस्थापन प्राधिकरण जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस