वैदेशिक व्यापारमा निर्यात शतप्रतिशत वृद्धि

पत्रपत्रिकाबाट

शुक्रबार, १७ मंसिर २०७८, ०७ : ४०
वैदेशिक व्यापारमा निर्यात शतप्रतिशत वृद्धि

काठमाडौं ।  नेपालको वैदेशिक व्यापारको यो ४ महीनामा वस्तु तथा सेवा निकासी शतप्रतिशतले वृद्धि देखिएको छ । चालू आर्थिक वर्ष (आव) २०७८/७९ को पहिलो चौमासिकमा गतवर्षको तुलनामा साउनदेखि कात्तिकसम्मको निकासीमा शतप्रतिशत वृद्धि देखिएको हो ।

भन्सार विभागको तथ्यांकअनुसार चालू आवको पहिलो महीना साउनमा नेपालबाट हुने निकासीमा गतवर्षको तुलनामा ११५ दशमलव ८५ प्रतिशतको वृद्धि देखिएको छ । भन्सारको तथ्यांकअनुसार भदौ, असोज र कात्तिकमा नेपालबाट हुने निकासीमा क्रमशः ११५ दशमलव ४३ प्रतिशत, १०९ दशमलव ५४ र १०४ दशमलव २९ प्रतिशत वृद्धि देखिएको हो । नेपालले कच्चा पदार्थ आयात गरी प्रशोधित खाद्य तेल निकासी गर्दा यो वर्ष नेपालको निर्यातमा शतप्रतिशत वृद्धि भएको हो ।

चालू आवको पहिलो ४ महीनामा नेपालले कुल रू. ८२ अर्ब १२ करोडको वस्तु तथा सामग्रीहरू निर्यात गरेको छ । उक्त निर्यातमा पाम, भटमास र सूर्यमुखी तेल निर्यातको अंश मात्रै ५७ दशलमव ८ प्रतिशत छ । यस अवधिमा नेपालले रू.४७ अर्ब ४६ करोड मूल्य बराबरको प्रशोधित खाद्य (भटमास, पाम र सूर्यमुखी) तेल निर्यात गरेको छ ।

यस हिसाबले नेपालबाट निर्यात हुने वस्तुहरूमा मुख्य अंश तेलले लिन थालेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र (टीईपीसी)को ४ महीनाको विवरणअनुसार निर्यातमा भटमास तेलको अंश ३२ दशमलव १५, पामको २३ दशमलव १६ र सूर्यमुखी तेलको २ दशमलव ४८ प्रतिशत रहेको छ । आर्थिक अभियानमा खबर छ ।

प्रतिक्रिया दिनुहोस