किमको रोजाइमा परेको लेदर कोट लगाउन सर्वसाधारणलाई प्रतिबन्ध

एजेन्सी

शुक्रबार, १० मंसिर २०७८, ११ : ५६
किमको रोजाइमा परेको लेदर कोट लगाउन सर्वसाधारणलाई प्रतिबन्ध

एजेन्सी । उत्तर कोरियाले सर्वसाधारणलाई लेदरको कोट लगाउन प्रतिबन्ध लगाएको छ । उत्तर कोरियाका तानाशाह किम जोङ उनको मुख्य रोजाइ रहेकोले सर्वसाधारणलाई कोट लगाउन प्रतिबन्ध लगाइएको हो । 

उन सबैभन्दा पहिला सन् २०१९ मा लेदर कोटमा देखिएका थिए । त्यसपछि सो कोट यति प्रख्यात भयो की उनको अनुशरण गर्दै त्यहाँका कुलीन वर्गले सो कोट लगाउन थाले । चिसो मौसम सुरू भएसँगै लामो लेदर कोट फेसन जस्तै भएको छ । 

तर, पछिल्ला समयमा प्रहरीले कोट बिक्रीमा प्रतिबन्ध लगाएको छ । पसलेलाई कोट बिक्री नगर्न र अटेरी गरे जफत गर्न सरकारले प्रहरीलाई निर्देशन दिएको छ । ‘उच्च मर्यादित व्यक्ति जस्तो देखिन लुगा लगाउनु भनेको व्यक्तिलाई चुनौती दिनु पनि हो,’ एक प्रहरी अधिकारीको भनाई उदृत गर्दै एक अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेको छ ।  

विशेष लुगा कसले लगाउने भन्ने विषय पार्टीको अधिकार भएकोले सर्वसाधारणलाई छालाको कोट नलगाउन उर्दी जारी गरिएको ती अधिकारीले बताए । यसै साता चीनसँगको सीमा खुला गरिएपछि सेप्टेम्बरमा कोरियाली बजारमा किमले लगाउने जस्तै कोट देखिएका थिए । केही व्यापारीहरुले चीनबाट कच्चा पर्दाथ आयात गरेर स्वदेशमै कोट सिलाएका थिए ।  

सन् २०१९ मा अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेट वार्तामा किम लेदर कोटमा सजिएका थिए । किमका बुबा र हजुरबुबा माओ शैलीको ज्याकेट र कालो चस्माका सोखिन थिए ।