शशांकले मागे प्रकाशमानसँग माफी

सफल खबर संवाददाता

शनिबार, ०४ मंसिर २०७८, १६ : १६
शशांकले मागे प्रकाशमानसँग माफी

काठमाडौँ । पछिल्लो समय वादविवादमा उत्रिएका नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ । शनिबार दिउँसो महामन्त्री कोइराला चाक्सीबारीस्थित सिंह निवास पुगेका हुन् । भेटमा शशांकले प्रकाशमानसँग माफी मागेका छन् । आफ्नो अभिव्यक्तिबाट रिसाएको भन्दै शशांकले प्रकाशमानसँग ‘सरी’ भन्दै माफी मागेका हुन् । प्रकाशमानले पनि त्यसलाई सहज रुपमा लिए । 

केहीदिन अघि शशांकले प्रकाशमान काठमाडौंमै घेरिएरको आरोप लगाउँदै साथीहरूसँग आत्मीयता नदेखिएको र काठमाडौं बाहिरकाले नचिन्ने टिप्पणी गरेका थिए । उनले भनेका थिए- ‘प्रकाशमानको बारेमा भन्दाखेरी नराम्रो लाग्छ, तर सत्य हो, उहाँ काठमाडौंमै घेरिएर बस्नुभएको छ । काठमाडौंबाहिर निक्लिनेबित्तिकै प्रकाशमानलाई मान्छेले चिन्दैनन् ।’ 

त्यसपछि आफूविरुद्ध दुष्प्रचार गर्नेहरूले हद नाघेको भन्दै प्रकाशमानले आक्रोश पोखेका थिए । ‘संविधान जारी हुँदा उपप्रधानमन्त्री भएको मान्छे हुँ, गिरिजाप्रसाद कोइरालाको उपसभापति, सुशील कोइरालाको निर्वाचित महामन्त्री र शेरबहादुरले पार्टी विभाजन गर्दा पनि जिम्मेवार पदमा बसेर काम गरेको मान्छे हुँ म’, शशांकप्रति लक्षित गर्दै उनले भनेका थिए, ‘आफू कुनै पदमा बसेको छैन, अरुलाई पनि त्यही देख्ने, फलानाेको के छ के छ भन्दै उफ्रने।’

भेटमा शशांक र प्रकाशमानबीच पार्टी महाधिवेशन केन्द्रित छलफल पनि भएको थियो । उनीहरू दुबै कांग्रेस सभापतिका आकांक्षी छन्।

प्रतिक्रिया दिनुहोस