‘पार्टी एक नभएसम्म काँग्रेसको मात्र होइन, नेपालको भविष्य नै अन्धकारतर्फ जान्छ’: शशांक कोइराला

सफल खबर संवाददाता

शनिबार, ०९ जेठ २०८३, २१ : ०३
‘पार्टी एक नभएसम्म काँग्रेसको मात्र होइन, नेपालको भविष्य नै अन्धकारतर्फ जान्छ’: शशांक कोइराला

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीलाई एक ढिक्का बनाउन वैचारिक छलफल र ठोस पहल जरुरी रहेको बताएका छन् । शनिबार संस्थापन इतर समूहले पोखरामा गरेको गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै नेता कोइरालाले उनले यस्तो बताएका हुन् । 

पार्टीभित्रको एकता र सुदृढीकरणका लागि गम्भीर गृहकार्य र संवादको आवश्यकता रहेको उनको भनाइ छ । पूर्वमहामन्त्रीसमेत रहेका कोइरालाले गुट उपगुटलाई चिर्दै एकताबद्ध काँग्रेस निर्माण गर्नुपर्नेमा जोड दिए । ‘पार्टी एक नभएसम्म नेपाली काँग्रेसको मात्र होइन, नेपालको भविष्य नै अन्धकारतर्फ जान्छ,’ उनले भने ।

पार्टीभित्रका समस्या समाधानका लागि नेताहरूबीच निरन्तर संवाद आवश्यक रहेको भन्दै उनले सबैलाई समेटेर अघि बढ्ने नीति नै काँग्रेसलाई बलियो बनाउने बाटो भएकाले नेतृत्वले ध्यान दिनुपर्ने बताए । उनले सर्वोच्च अदालतले काँग्रेस फुटाएको टिप्पणी पनि गरेका छन् ।