नेशनल पेमेन्ट स्वीचमा २९ वटा बैंक तथा वित्तीय संस्थाहरु जोडिए

सफल खबर संवाददाता

शुक्रबार, ०३ मंसिर २०७८, १३ : ०४
नेशनल पेमेन्ट स्वीचमा २९ वटा बैंक तथा वित्तीय संस्थाहरु जोडिए

काठमाडौं। नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले कार्यान्वयन गर्दै गरेको नेशनल पेमेन्ट स्वीचमा २९ वटा बैंक तथा वित्तीय संस्था जोडिएका हुन्। पहिलो चरणको थालनीका निम्ति एनसीएचएल र २९ बैंक बित्तीय संस्थाबीच बिहीबार एक औपचारिक कार्यक्रममा  सम्झौता भएको छ।

सम्झौतामा हस्तान्तरण हुने कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीका साथै डेपुटी गभर्नरहरु नीलम ढुङ्गाना तिम्सिना र बमबहादुर मिश्र पनि उपस्थित थिए।

कार्यक्रममा नेपाल बैंकर्स संघका अध्यक्ष अनिल उपाध्याय, डेभलपमेन्ट बैंकर्स संघका अध्यक्ष प्रद्युमन पोखरेल र फाइनान्स कम्पनी संघका अध्यक्ष सरोजकाजी तुलाधार पनि उपस्थित थिए। विभिन्न बैंक वित्तीय संस्था  तथा भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवा प्रदायक संस्थाका प्रमुख कार्यकारी र पदाधिकारीहरु पनि सहभागी थिए।

सरकारको बजेट तथा मौद्रिक नीतीमा समेत उल्लेख भएबमोजिम नेशनल पेमेन्ट स्वीचको स्थापनाको लागी एनसीएचएललाई गत आर्थिक वर्ष प्रारम्भिक स्वीकृति प्रदान गरिएकोमा पहिलो चरण कार्यान्वयनका लागि भने अन्तिम स्वीकृति २०७८ कात्तिकमा दिइएको थियो।

नेशनल पेमेन्ट स्वीचको कार्यान्वयनका लागि हालसम्म १८ वटा वाणिज्य बैकहरु, ५ वटा विकास बैंकहरु तथा ६ वटा फाइनान्स कम्पनीहरु गरी जम्मा २८ बैक वित्तीय संस्थाहरुले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। यसैगरी अन्य बैंकरवित्तिय संस्थाहरु, भुक्तानी प्रणाली संचालक र भुक्तानी सेवाप्रदायकहरुलाई समेत छिट्टै नेशनल पेमेन्ट स्वीचमा आबद्ध गराउँदै लैजाने कार्य योजना रहेको छ।

विद्युतीय भुक्तानीका उपकरणको प्रयोगलाई सहज, सुलभ र सुरक्षित बनाउन भुक्तानी कार्ड, रिटेल पेमेन्ट, क्युआर लगायतका विद्युतीय भुक्तानीका माध्यम बीच अन्तर-आबद्धता कायम गर्दै नेपालभित्र हुने कारोबारको भुक्तानी र फरफारक गर्न तथा नेपालको आफ्नै भुक्तानी कार्ड समेत प्रयोगमा ल्याउन नेशनल पेमेन्ट स्वीचको स्थापना गरिएको हो।

नेशनल पेमेन्ट स्वीच नेपाल क्लियरिङ हाउसअन्तर्गत दुई चरणमा कार्यान्वयन गर्ने काम हुँदै आएको छ। पहिलो चरणमा कार्ड बाहेकका रिटेल कारोबारमा प्रयोग हुने बैंक खाता, वालेट, क्युआरलगायतका भुक्तानीहरुको लागि आवश्यक पूर्वाधार तथा भुक्तानी उपकरणहरु स्थापना गरिएको छ। दोस्रो चरणमा कार्डको लागि नेशनल कार्ड स्वीच र नेपाल पेमेन्ट कार्डको लागि आवश्यक कार्य अघि बढाइएको छ।

नेशनल पेमेन्ट स्वीच सञ्चालनमा आएपछि राष्ट्र बैंकले प्रकाशित गरेको नेपाल क्युआर स्ट्याण्डर्ड पूर्णरूपमा कार्यान्वयन गर्न सकिने विज्ञप्तिमा उल्लेख छ। यस अन्तर्गत उक्त स्ट्याण्डर्डको नेपालपे क्युआर लागू हुनेछ भने नेपालभित्र रहेका क्युआरबीच समेत अन्तर-आबद्धता कायम गर्न सकिने छ।

सेवाबापतको भुक्तानीहरुलाई कुनै पनि बैंकरवित्तीय संस्था वा भुक्तानी सेवाप्रदायकका वैकल्पिक च्यानलहरुबाट भुक्तानी गर्दा रिटेल पेमेन्ट स्वीचमार्फत कारोबार र यसको फर्छ्यौट गर्न सकिने छ।

वालेट–वालेट बीचको अन्तर-आबद्धता कायम गरी एउटा भुक्तानी सेवा प्रदायकबाट अर्को भुक्तानी सेवा प्रदायकमा वालेटबाट नै रकम ट्रान्सफर गर्ने लगायतका भुक्तानी गर्न सकिनेछ। त्यस्तै विद्युतीय आदेशमा आधारित रिक्वेस्ट–टु–पे अन्तर्गतको नयाँ भुक्तानी उपकरणहरु प्रयोगमा आउने छन। हाल सञ्चालनमा रहेका भुक्तानी प्रणाली सञ्चालक तथा अन्य संस्थाको अन्तिम सेटलमेन्ट समेत एनसीएचएलमार्फत गर्न सकिनेछ।

नेशनल पेमेन्ट स्वीचमा आबद्ध हुन तथा त्यसको लागि तयारी गर्न बैंकरवित्तीय संस्था र भुक्तानी सेवाप्रदायक तथा भुक्तानी प्रणाली सञ्चालकहरुलाई एनसीएचएलले आवश्यक सहयोग गर्दै आएको विज्ञप्तिमा उल्लेख छ।

पहिलो चरणको पूर्वाधारमा आबद्ध हुन र प्रयोग गर्न यसअघि एनसीएचएलमा आबद्ध भएका सबै सदस्य बैंकरवित्तीय संस्था तथा अन्य सदस्यहरुलाई सिधै यो रिटेल पेमेन्ट स्वीचमा पहुँच प्रदान गरिने गरी एनसीएचएलले पूर्वाधारमा लगानी गरेको छ। यसले नेशनल पेमेन्ट स्वीच लगायतका उपकरणहरुको कार्यान्वयन गर्न, कारोबार सम्बन्धि डाटा नेपालभित्रै राख्न र ग्राहकहरुलाई विद्युतीय भुक्तानीको सेवा समेत सहुलियत रूपमा प्राप्त गराउन सहयोगी भूमिका खेल्ने छ।

प्रतिक्रिया दिनुहोस