प्रधानन्यायाधीशको सिट खाली भइसक्यो, अब नयाँ नियुक्ति गर्नुपर्छ : शम्भु थापा

सफल खबर संवाददाता

बुधबार, ०१ मंसिर २०७८, १४ : ४६
प्रधानन्यायाधीशको सिट खाली भइसक्यो, अब नयाँ नियुक्ति गर्नुपर्छ : शम्भु थापा

काठमाडौं। वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीशको सिट खाली भइसकेको बताएका छन् । आज बुधवार नेपाल बार एसोसिएशनले गरको सर्वोच्च अदालतमा धर्नाको कार्यक्रम सकिएपछि एसोसिएशनको प्राङ्गणमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता थापाले प्रधानन्यायाधीशको सिट खाली भइसकेको बताएका हुन् ।

उनले नयाँ प्रधानन्यायाधीश नियुक्ति गर्ने जिम्मा सरकार र प्रतिपक्ष दलको भएको भन्दै बारले नयाँ प्रधानन्यायाधीशको नियुक्तिका लागि आन्दोलन गरेको बताए । उनले भने, ‘आज प्रधानन्यायाधीशको सिट खाली छ । प्रधानन्यायाधीशको सिट खाली भइसकेको छ । कसरी मनोनयन गर्ने, कसरी नियुक्ति गर्ने, यो सरकार र संविधान चलाउने, सरकार र प्रमुख प्रतिपक्षी दलको जिम्मा हो । तपाई र मैले खाली गरिसक्यौं, कसरी खाली गर्‍यौं, खाली भइसक्यो । तपाई र मैले अर्को मनोनयनका लागि कराइराख्नु परेको छ । राम्रो प्रधानन्यायाधीश मनोनयन गर भनेर हामीले भनिराख्नु परेको छ ।’

वरिष्ठ अधिवक्ता थापाले कानुन व्यवसायीहरूको उपस्थिति विना न्यायालय चल्न नसक्ने बताए । केही न्यायाधीशहरू इजलाश बस्न लागेकोतर्फ इङ्गित गर्दै उनले न्यायाधीशहरूले मात्रै अदालत चलाउन नसक्ने बताए । प्रधानन्यायाधीशले भ्रष्टाचार गरेको भन्दै बारले आन्दोलन गरिरहेका बेला इजलासमा बस्ने न्यायाधीश दूषित भएको टिप्पणी उनले गरे । उनले प्रधानन्यायाधीशले भ्रष्टाचार गरेको हो कि होइन सोध्नका लागि न्यायाधीशहरूलाई आग्रह पनि गरे ।

वरिष्ठ अधिवक्ता थापाले आफूहरू भ्रष्टाचारीको पछि लागेर बहस नगर्ने स्पष्ट पारे । उनले प्रधानन्यायाधीशले गरेको भ्रष्टाचारको विवरणसहित संसदमा कागज दर्ता गर्नुपर्ने बताए । उनले भने, ‘संसदमा एउटा कागज दर्ता गर्नुपर्छ, त्यो ऐतिहासिक हुन्छ, भ्रष्टाचार गरेको कागजसहित दर्ता गर्नुपर्छ । संसदमा पुरा पोइन्टसहित बुलेटमा, यिनका घर जग्गासहित ।’ ‘न्याय बेचेर भाइ भारदार धनी बनाउने, सरकारसँग भाग माग्ने ?’, उनले भने, ‘हामीले प्रधानन्यायाधीशको सिट खालि गरिसक्यौं । हामी गएर प्रश्न सोध्न सक्छौँ तपाईंले कति घुस खानुभएको हो ?’”

उनले आफूहरुविरुद्ध स्टाटस लेख्ने र गलगाँडको रुपमा सडकमा आएका कानुनविदहरु नै रहेको भन्दै आक्रोश व्यक्त गरे ।वरिष्ठ अधिवक्ता थापाले आफूहरूले प्रधानन्यायाधीशको राजीनामा माग्दै गर्दा अन्य न्यायाधीशको पनि राजीनामा माग्ने र कानुन व्यवसायीहरूलाई समेत आरोप लगाइएको भन्दै अर्को प्रधानन्यायाधीश नियुक्त भएसँगै कानुन व्यवसायीहरूले भ्रष्टाचार गरे÷नगरेको सम्बन्धमा छानबिन गर्न चुनौती दिए । उनले सिरकभित्र टाउको नलुकाइ बारको आन्दोलनमा ऐक्यबद्धता जनाउन पनि सम्पूर्ण कानुन व्यवसायीहरूलाई आग्रह गरे ।

वरिष्ठ अधिवक्ता थापाले नेपाल बार एशोसिएसनलाई नसोधिकन प्रधानन्यायाधीशले नियुक्त गर्ने कुनै पनि नियुक्ति नगर्न न्याय परिषद्का सदस्यहरूलाई खबरदारी गरे । यदि बारको सहमति विना नियुक्ति गरेमा न्याय परिषदबाट फिर्ता बोलाउने अधिकार पनि बारसँग रहेको उनले बताए । उनले भने, ‘खबरदार बारलाई नसोधिकन एउटा नियुक्ति गर्नुहोला र सही गर्नुहोला । तपाईलाई जसरी भोट मागेर पठाइएको छ, त्यसरी नै बोलाउने अधिकार छ । तपाईले नेपाल बारसँग छलफल नगरिकन केही नगर्नुस् । हिजो विज्ञप्ति निकालेको छ कुनै नियुक्ति नहोस् भनेर, वरिष्ठ न्यायाधीश दीपककुमार कार्कीलाई पनि हाम्रो अनुरोध छ ।’

उनले राजनीतिक दलहरूले न्यायालय सामाजिकीकरण गर्ने कि भ्रष्टाचारको पक्षमा हुने स्पष्ट पार्नुपर्ने बताए। न्यायालयको समस्या समाधान गर्ने कि पैसामा न्याय किनिने पक्षमा राजनीतिक दलहरू हो भनी वरिष्ठ अधिवक्ता थापाले प्रश्न गरे ।

नेपाल बार एशोसिएसनले आज पनि सर्वोच्च अदालतमा धर्ना दिएको छ । बारले सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिए पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा भने वैकल्पिक गेटबाट सर्वोच्च अदालत परिसर प्रवेश गरेका थिए । 

प्रधानन्यायाधीशविरुद्ध थप आन्दोलनको कार्यक्रम घोषणा गरेको बारले प्रधानन्यायाधीशको राजीनामा नआउञ्जेलसम्म आन्दोलनलाई अझ सशक्त र देशभर फैलाएर लैजाने बताएको छ ।

प्रतिक्रिया दिनुहोस