पल र पूजाको 'म यस्तो गीत गाउँछु २' माघ १९ मा रिलिज हुने

सफल खबर संवाददाता

विहीबार, २५ कार्तिक २०७८, १२ : २९
पल र पूजाको 'म यस्तो गीत गाउँछु २' माघ १९ मा रिलिज हुने

काठमाडौं । फिल्म क्षेत्र चलायमान हुँदै जाँदा केही नेपाली फिल्मले प्रदर्शन मिति तय गर्न थालेका छन् । सुदर्शन थापा निर्देशित रोमान्टिक ड्रामा ‘म यस्तो गीत गाउँछु २’ले आगामी माघ १९ गतेलाई रिलिज डेट घोषणा गरेको छ ।

माघ १९ गते सोनाम ल्होछारको सार्वजनिक बिदा समेत पर्छ । यो डेट आकर्षक मिति समेत हो । पाँच दिनको सप्ताहन्त बिदा समेत पर्ने भएकाले दर्शक हलसम्म पुग्ने अनुमान छ । माघ २२ गते शनिबार र माघ २३ गते बसन्तपञ्चमीको बिदा पर्छ ।

निर्माता समेत रहेका निर्देशक थापा र अभिनेत्री पूजा शर्माले सामाजिक संजालमार्फत प्रदर्शन मिति सार्वजनिक गरेका छन् । झन्डै दुईवर्षअघि कोरोना महामारी रोकथामका लागि लागू गरिएको लकडाउनको कारण प्रदर्शन मिति स्थगित भएको थियो ।

रिलिज डेट घोषणापछि निर्देशक थापाले नेपाल प्रेसलाई भने, ‘यो समय हामीले एकअर्कोलाई आरोप प्रत्यारोप गर्नेभन्दा पनि फिल्म क्षेत्रलाई चलायमान बनाउने नै हो । यही कारण हामीले प्रदर्शन गर्ने जमर्को गरेका छौं ।’ ट्रेलर र कतिपय गीतहरु यसअघि नै सार्वजनिक भैसकेकाले ताजा तुल्याउन पुनः ट्रेलर र गीत रिलिज गर्न लागिएको समेत जानकारी सुदर्शनले दिए ।

‘म यस्तो गीत गाउँछु’को पहिलो संस्करण व्यवसायिकरुपमा सफल भएपछि सुदर्शन र पूजाले दोस्रो सिक्वेल ल्याएका हुन् । यो फिल्ममा पूजा स्वयम र पल शाहको मुख्य भूमिका छ । पूजा र पल घरेलु फिल्मका दर्शकका लागि रोजाइका जोडीमध्ये पर्छन् । चपली हाइट ३ पुस २ गते प्रदर्शन हुने तयारीमा छ । अन्य फिल्मले पनि प्रदर्शन मिति सार्वजनिक गर्ने तयारी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस